काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा नवराज ढकाल आएका छन्। यसअघि महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी मीरा आचार्यको स्थानमा ढकाललाई विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो।
वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधान, श्रमिकलाई सहज र प्रभावकारी सेवा प्रवाह तथा वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने चुनौतीबीच ढकालले विभागको नेतृत्व सम्हालेका हुन्।
वैदेशिक रोजगार विभाग श्रम स्वीकृति, वैदेशिक रोजगारसम्बन्धी उजुरी तथा गुनासो व्यवस्थापन, राहत तथा उद्धार, वैदेशिक रोजगार व्यवसायको नियमनलगायत महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने निकाय हो। पछिल्लो समय श्रमिक ठगी, सेवा प्रवाहमा देखिने समस्या, श्रम स्वीकृति प्रक्रियालाई थप सहज बनाउने तथा वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्ने विषय विभागका प्रमुख चुनौतीका रूपमा छन्।
श्रमिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै विभागका कामकारबाहीलाई थप पारदर्शी, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, प्रविधिको प्रयोगमार्फत सेवाग्राहीको झन्झट घटाउने र वैदेशिक रोजगारीसम्बन्धी गुनासो तथा उजुरीको शीघ्र सम्बोधन गर्ने विषयमा पनि नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने देखिन्छ।
यसअघि मीरा आचार्यले विभागको नेतृत्व सम्हाल्दै आएकी थिइन्। आचार्यलाई २०८२ पुसमा विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो र उनी विभागको इतिहासमा पहिलो महिला महानिर्देशक बनेकी थिइन्।
महानिर्देशक ढकालसामु वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या न्यूनीकरण गर्दै श्रमिकको हित संरक्षण गर्ने, व्यवसायी र श्रमिकबीचको समन्वय प्रभावकारी बनाउने तथा विभागबाट हुने सेवा प्रवाहलाई थप चुस्त बनाउने मुख्य चुनौती रहनेछ।


























