काठमाडौं । नेपालक विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्यम ज्योति ग्रुपले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो । प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा होन्डाको आधिकारिक प्रतिनिधिका रूपमा काम गर्दै आएको स्याकार ट्रेडिङले विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ ।
‘यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं,’ कम्पनीले भनेको छ, ‘राहत तथा पुनःस्थापनाको काममा सकारात्मक योगदान पुर्याउनु हाम्रो उद्देश्य हो ।’
बाढीपहिरोपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार तथा विभिन्न सरोकारवाला निकायले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ । प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन सामूहिक प्रयास र सहकार्य महत्वपूर्ण हुनेमा पनि कम्पनीले जोड दिएको छ ।


























