काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा आफ्नो नाम समावेश भएको विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार व्यवसायी रामप्रसाद गैरेले अध्यक्षको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।
एफडब्लुसिएमएसमा सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै पहुँच दिइएको विषयमा विवाद भइरहेका बेला आफ्नो नामसमेत सूचीमा आएपछि गैरेले विषयको निष्पक्ष छानबिन र आधिकारिक टुंगो नलाग्दासम्म नैतिकताका आधारमा अध्यक्षको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
गैरेले आफ्नो कम्पनीको नाम एफडब्लुसिएमएसमा कसरी र कुन प्रक्रियाबाट समावेश भयो भन्ने विषय आफूलाई समेत स्पष्ट हुनुपर्ने बताएका छन् । आफ्नो प्रत्यक्ष संलग्नता भए–नभएको विषय सम्बन्धित निकायमा बुझाइएको स्पष्टीकरण तथा छानबिनबाट स्पष्ट हुने उनको भनाइ छ ।
‘एफडब्लुसिएमएसमा आफ्नो नाम आएको विषयमा सत्यतथ्य बाहिर आउनुपर्छ । विषयको आधिकारिक टुंगो नलाग्दासम्म नैतिक जिम्मेवारी लिँदै अध्यक्षको भूमिकाबाट अलग भएको हुँ,’ गैरेको भनाइ छ ।
गैरे अध्यक्षको जिम्मेवारीबाट अलग भएपछि संस्थाको प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महासचिव सुमनराज पाण्डेले जानकारी दिए ।
यसैबीच, संस्थाले एफडब्लुसिएमएसको सूचीमा नाम समावेश भएका गैरेसहित २३० जना व्यवसायीलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । संस्थाले प्राप्त स्पष्टीकरणका आधारमा थप निर्णय गर्ने जनाएको छ ।
एफडब्लुसिएमएसको पहिलो २५ जनाको सूचीमा परेका सदस्यहरूलाई यसअघि नै संस्थाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको संस्थाले जनाएको छ । एफडब्लुसिएमएसमा सीमित व्यवसायीलाई मात्र पहुँच दिइएको विषयमा व्यवसायी क्षेत्रबाट प्रश्न उठ्दै आएको अवस्थामा पछिल्लो घटनाले यो विषयलाई थप चर्चामा ल्याएको छ ।
गैरेले भने आफूले पदभन्दा सत्यतथ्य र संस्थाको गरिमा महत्वपूर्ण ठानेर जिम्मेवारीबाट अलग भएको बताएका छन् ।



























