काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा दोलखाको विगु गाउँपालिकामा स्थानीय पार्टी नेतृत्वका लागि राजनीतिक छलफल र आकांक्षीहरूको सक्रियता बढेको छ।
विगु गाउँपालिका सभापतिका लागि युवा नेता शैलेन्द्र खड्का (निरज) को नाम चर्चामा आएको छ। खड्कालाई सभापति बनाउन पार्टीभित्र छलफल तथा लबिङसमेत तीव्र भइरहेको बताइएको छ।
कृषि व्यवसायमा आफ्नै कर्मबाट पहिचान बनाएका खड्का समाजसेवामा समेत सक्रिय रहँदै आएका छन्। युवाको आवाजलाई राजनीतिक नेतृत्वसँग जोड्दै संगठनलाई थप चलायमान बनाउन सक्ने युवा नेतृत्वका रूपमा उनलाई अघि सार्नुपर्ने धारणा कांग्रेसभित्र उठ्न थालेको छ।
१५औँ महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसमा पुरानै शैली, गुट र पहुँचको राजनीतिभन्दा योग्यता, सक्रियता, संगठनप्रतिको योगदान तथा जनतासँगको सम्बन्धलाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ।
विगुको कांग्रेसलाई थप संगठित, चलायमान र जनमुखी बनाउन नयाँ ऊर्जा आवश्यक रहेको भन्दै खड्काको पक्षमा रहेका नेताहरूले उनको उम्मेदवारीलाई अघि बढाइरहेका छन्।
खड्काका समर्थकहरूले ‘गुट होइन, संगठन; व्यक्ति होइन, विचार; आश्वासन होइन, काम गर्ने नेतृत्व’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
विगु गाउँपालिका कांग्रेसको नेतृत्व चयनमा शैलेन्द्र खड्काको नाम चर्चामा आएसँगै आगामी अधिवेशनमा नयाँ पुस्ताको नेतृत्व स्थापित हुने वा पुरानै नेतृत्वलाई निरन्तरता दिने भन्ने विषयमा समेत चासो बढेको छ।



























