काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रिया तोकिएको समयभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ।
मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने तथा प्रमाणीकरणका क्रममा आवश्यक पर्ने अपुग कागजातबारे रोजगारदाता कम्पनीलाई पटक–पटक जानकारी दिँदा अनावश्यक झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
२०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात र प्रक्रिया प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
निर्देशनअनुसार गन्तव्य मुलुकमा रहेको रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिएपछि थप कागजात आवश्यक भए त्यसको विवरण एकमुष्ट रूपमा रोजगारदाता कम्पनीलाई जानकारी गराउनुपर्नेछ। एउटै प्रक्रियामा पटक–पटक कागजात मागेर रोजगारदातालाई अनावश्यक झन्झट दिन नहुने मन्त्रालयको निर्देशन छ।
त्यस्तै, मागपत्र प्रमाणीकरणका लागि प्रचलित कानुनले तोकेको समयसीमाभित्रै प्रक्रिया पूरा गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिइएको छ। यसबाट प्रमाणीकरण प्रक्रियामा हुने ढिलाइ घट्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने प्रक्रिया थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगलाई पत्राचार गरी रोजगारदाता कम्पनीबाट मागपत्र प्रमाणीकरणका क्रममा आवश्यक पर्ने थप कागजातको विवरण एकमुष्ट रूपमा उपलब्ध गराउन र कानुनले तोकेको समयसीमाभित्रै प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको जनाएको छ।
सरकारले मागपत्र प्रमाणीकरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित, सहज र समयबद्ध बनाउँदै वैदेशिक रोजगार प्रक्रियामा देखिएका अनावश्यक झन्झट न्यूनीकरण गर्ने जनाएको छ।



























