काठमाडौं । मलेसियाले लागू गरेको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) मा नेपालका सबै इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीलाई समान रूपमा सहभागी गराउन नेपाल सरकारले आग्रह गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच २०८३ असोज ६ गते भएको टेलिफोन संवादपछि नेपालका श्रममन्त्री रामजी यादव र मलेसियाका मानव संसाधनमन्त्री दातुक सेरी आर रमानान ( रमानान रामकृष्णान ) बीच आज टेलिफोन संवाद भएको हो।
संवादमा मन्त्री यादवले मलेसियाको FWCMS मा नेपालका २५ वटा ‘प्रिन्सिपल एजेन्सी’ र तिनअन्तर्गत छनोट गरिएका २५० वटा ‘सपोर्टिङ/एसोसिएट एजेन्सी’लाई मात्र समेटिएको विषय उठाउँदै नेपालमा इजाजतपत्र प्राप्त सबै वैदेशिक रोजगार व्यवसायीलाई समान रूपमा मलेसिया पठाउने अवसर उपलब्ध गराउन आग्रह गरेका छन्।
मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार १०० भन्दा बढी इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी सक्रिय छन्। मन्त्री यादवले नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सबै संस्थालाई FWCMS मा सूचीकरणको अवसर दिनुपर्ने बताएका छन्।
नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताले समेत नेपाल सरकारबाट इजाजतपत्र प्राप्त संस्थाले समान हैसियतमा नेपाली श्रमिक मलेसिया पठाउन पाउने व्यवस्था गरेको स्मरण गराउँदै मन्त्री यादवले FWCMS को कार्यान्वयन दुई देशबीचको समझदारी र दुवै पक्षलाई स्वीकार्य हुने ढंगबाट अघि बढाउन आग्रह गरेका छन्।
मलेसियाका मानव संसाधनमन्त्री रमणनले भने नेपालसँगको श्रम सम्बन्धलाई मलेसिया सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। सुरक्षित, मर्यादित र पारदर्शी श्रम आप्रवासनको पक्षमा रहेको उल्लेख गर्दै उनले FWCMS सम्बन्धमा नेपालमा विकसित अवस्था र नेपाल सरकारको अनुरोधलाई मलेसिया सरकारको उच्च तहमा छलफलका लागि राख्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्रालयले विकसित अवस्थाबारे नेपाल र मलेसियाबीच संवादलाई निरन्तरता दिँदै वार्तामार्फत नै निष्कर्षमा पुग्ने सहमति भएको जनाएको छ।




























