काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा उमेर समूहबाट महाधिवेशन प्रतिनिधिका लागि रञ्जन खड्का मुख्य दाबेदारका रूपमा प्रस्तुत भएका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक पहिचान स्थापित गरेका खड्का नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य हुन्। राजनीतिक तथा शैक्षिक पृष्ठभूमि बोकेका खड्का पछिल्लो समय युवाहरू र विद्यार्थीका विषयमा सक्रिय रहँदै आएका छन्।
खड्काले काठमाडौंका विभिन्न कलेज तथा शैक्षिक संस्थामा अध्ययन गर्न आउने दोलखाका विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएका छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क तथा अन्य विद्यार्थीलाई सहुलियतपूर्ण रूपमा अध्ययनको अवसर उपलब्ध गराउन पहल गर्दै आएको उनको दाबी छ।
विद्यार्थीको शैक्षिक अधिकार, शैक्षिक प्रणालीको सुधार तथा विद्यार्थीका समस्यालाई सम्बोधन गर्नुपर्ने विषयमा हुने आन्दोलनमा समेत खड्काले सक्रिय भूमिका निर्वाह गरेका छन्।
विद्यार्थीका समस्या र शैक्षिक क्षेत्रका चुनौतीलाई नजिकबाट बुझेका कारण आफूले राजनीतिलाई पनि अध्ययन र विचारका आधारमा अघि बढाउनुपर्ने मान्यता राख्ने उनी बताउँछन्।
युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण, विद्यार्थी तथा युवाका मुद्दालाई पार्टीको मूल राजनीतिक बहससँग जोड्ने र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने विषयलाई खड्काले आफ्नो प्राथमिकतामा राखेका छन्।
पारिवारिक रूपमा समेत राजनीतिक वातावरणबाट प्रभावित खड्काले विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टीको संगठनात्मक भूमिकामा उपयोग गर्ने लक्ष्यसहित १५औँ महाधिवेशनमा युवा पुस्ताबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।




























