काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन्। कतारको दोहामा हुने बैठकमा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन तथा आर्थिक वृद्धिका लागि आवश्यक लगानी र बहुपक्षीय सहयोगका विषय उठाउने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत दोहा प्रस्थान गरेका हुन्। उनीसँगै मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लम्साल पनि भ्रमण टोलीमा सहभागी छन्।
दोहामा हुने एआईआईबीको बोर्ड अफ गभर्नर्सको सत्रमा नेपालको प्रतिनिधित्व गर्दै वाग्लेले नेपालको पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि आवश्यक वित्तीय स्रोत, लगानी तथा बहुपक्षीय सहकार्यका विषयमा धारणा राख्ने कार्यक्रम छ।
बैठकमा नेपालका लागि जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासमा लगानी विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइने अर्थ मन्त्रालयले जनाएको छ। विकास पूर्वाधारमा लगानी बढाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ।
ती भेटवार्तामा नेपालसँग सम्बन्धित आर्थिक सहकार्य, लगानी विस्तार तथा विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ। विशेषगरी पूर्वाधार, ऊर्जा, जलवायु अनुकूलन तथा पुनर्निर्माणलगायतका क्षेत्रमा सहकार्य र लगानीका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्ले कतारमा हुने बैठक तथा द्विपक्षीय भेटवार्ता सम्पन्न गरी असोज १४ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।




























