काठमाडौं । राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) को विवरण सम्बन्धित अनलाइन प्रणालीमा नदेखिँदा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको भिसा आवेदनदेखि अन्तिम श्रम स्वीकृतिसम्मको प्रक्रिया प्रभावित भएको छ। प्राविधिक समस्याका कारण श्रमिकले भिसा आवेदन, बायोमेट्रिक भेरिफिकेसन, अभिमुखीकरण तथा श्रम स्वीकृतिमा समस्या भोग्नुपरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक दीपक विकसँग भेट गरी हाल जारी भइरहेका पीबी सिरियलका राहदानीमा देखिएको समस्या समाधानका लागि आग्रह गरेको हो।
संघका अनुसार पीबी सिरियलका राहदानी लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकको राहदानी विवरण सम्बन्धित मुलुकको अध्यागमन प्रणालीमा अनलाइन नदेखिँदा भिसा आवेदन अस्वीकृत हुने अवस्था देखिएको छ। राहदानी जारी भइसके पनि सम्बन्धित देशको अध्यागमन प्रणालीमा विवरण उपलब्ध नहुँदा श्रमिकको वैदेशिक रोजगारी प्रक्रिया प्रभावित भएको संघले जनाएको छ।
प्रतिनिधिमण्डलले सम्बन्धित देशको अध्यागमन प्रणालीमा राहदानीको विवरण तत्काल अद्यावधिक हुने व्यवस्था मिलाउन राहदानी विभागबाट आवश्यक प्राविधिक पहल गर्न महानिर्देशक विकको ध्यानाकर्षण गराएको छ।
यसैगरी संघले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक कृष्ण पौडेलसँग भेट गरी २०८२ चैतदेखि जारी भएका राष्ट्रिय परिचयपत्रका नम्बर अनलाइन प्रणालीमा नदेखिने समस्याबारे समेत ध्यानाकर्षण गराएको छ।
एनआईडी नम्बर अनलाइन प्रणालीमा नदेखिँदा वैदेशिक रोजगार विभागको FEIMS प्रणालीमा श्रमिकको बायोमेट्रिक भेरिफिकेसन गर्न कठिनाइ भइरहेको संघले जनाएको छ। यसबाट अन्तिम श्रम स्वीकृति लिनुका साथै अभिमुखीकरण प्रक्रियामा समेत समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।
भेटमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक पौडेलले एनआईडीका विवरण अनलाइन प्रणालीमा राख्ने काम भइरहेको र त्यसका लागि केही समय लाग्ने जानकारी गराएको संघले जनाएको छ।
त्यस अवधिसम्म श्रमिकलाई प्रभावित हुन नदिन वैकल्पिक माध्यमबाट अभिमुखीकरण तालिम सञ्चालन गर्ने व्यवस्था मिलाउने तथा अन्तिम श्रम स्वीकृतिका लागि आवश्यक सहजीकरण गर्न एनआईडी कार्यालयबाट वैदेशिक रोजगार विभागमा तत्काल पत्राचार गर्ने प्रतिबद्धता महानिर्देशक पौडेलले व्यक्त गरेको संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिएका छन्।
व्यवसायी संघले राहदानी र एनआईडीको प्राविधिक समस्या लामो समयसम्म कायम रहे वैदेशिक रोजगारीमा जाने श्रमिकको भिसा तथा श्रम स्वीकृति प्रक्रिया थप प्रभावित हुन सक्ने भन्दै सम्बन्धित निकायबीच तत्काल समन्वय गरी समाधान खोज्न आग्रह गरेको छ।
संघले श्रमिकको रोजगारीको अवसर र वैदेशिक रोजगारीसँग जोडिएको समयसीमा प्रभावित हुन नदिन प्राविधिक समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ।




























