काठमाडौं । शैलुङ गाउँपालिका–४ स्थित दुर्गा माध्यमिक विद्यालयमा दशैँअघि विद्यालय बस सञ्चालनमा आउने भएको छ।
असार महिनामै बस उपलब्ध गराउने भनिए पनि कम्पनीको ढिलाइका कारण बस हस्तान्तरण हुन सकेको थिएन।
विद्यालय बस उपलब्ध गराउने जिम्मेवारी पाएको BATAS MAW Commercial Vehicles Pvt. Ltd. ले समयमै गाडी नल्याएपछि शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, वडा अध्यक्ष वीरबहादुर तामाङ र विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहाल कम्पनीको केन्द्रीय कार्यालय नक्साल पुगेका थिए।
कम्पनीको कार्यालयमा भएको छलफलका क्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले बस ल्याउन भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै कम्पनीका सहायक महाप्रबन्धक (Assistant General Manager) रघुनाथ पौडेलसमक्ष आक्रोश व्यक्त गरेका थिए।
कम्पनीका तर्फबाट भएको ढिलाइ स्वीकार गर्दै पौडेलले दशैँअघि नै विद्यालयलाई बस हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
शैलुङ गाउँपालिकाकै उत्कृष्ट विद्यालयमध्ये एक मानिने दुर्गा माध्यमिक विद्यालयमा बस सञ्चालनमा आएपछि विद्यार्थीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
विशेषगरी टाढाबाट विद्यालय आउने विद्यार्थीलाई बस सेवाले राहत पुग्ने विश्वास गरिएको छ।
लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय बस दशैँअघि नै उपलब्ध गराउने प्रतिबद्धताले विद्यालय परिवार, विद्यार्थी र अभिभावकमा आशा जगाएको छ।




























