काठमाडौं । प्याराडाइज इन्टरनेसनल प्रालिका सञ्चालक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार नवराज केसी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खोटाङबाट सर्वसम्मत निर्वाचित भएका छन्।
खोटाङमा सम्पन्न नेपाली कांग्रेसको अधिवेशनबाट केसीलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो। वैदेशिक रोजगार व्यवसायमा सक्रिय केसी लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध रहँदै पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा समेत सहभागी हुँदै आएका छन्।
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएपछि केसीले आफूलाई विश्वास गरेर साथ, सहयोग र समर्थन गर्ने खोटाङका सम्पूर्ण कांग्रेसजन, शुभेच्छुक, अग्रज, साथीभाइ तथा आम नागरिकप्रति आभार व्यक्त गरेका छन्।
उनले आगामी दिनमा पनि पार्टी र जिल्लाको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई प्राप्त सुझाव, साथ र मार्गदर्शनलाई निरन्तर आत्मसात् गर्ने बताएका छन्। जिल्लाका कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकले देखाएको विश्वासलाई आफूले जिम्मेवारीका रूपमा लिएको उनको भनाइ छ।
केसीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आम नागरिकका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्। विशेषगरी रोजगारी, युवा तथा वैदेशिक रोजगारसँग सम्बन्धित विषयलाई नीतिगत रूपमा सम्बोधन गर्न आफ्नो भूमिका प्रभावकारी बनाउने उनको धारणा छ।
‘आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत निर्वाचित गराउन साथ, सहयोग, विश्वास र अमूल्य समर्थन गर्नुहुने खोटाङ जिल्लाका सम्पूर्ण कांग्रेसजन, शुभेच्छुक, अग्रज, साथीभाइ तथा आम नागरिकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ केसीले भनेका छन्।
उनले आगामी दिनमा पनि जिल्लावासीको साथ, सुझाव र मार्गदर्शन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र जिल्लाका जनसरोकारका विषयलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउन सक्रिय रहने उनको भनाइ छ।
केसीको सर्वसम्मत चयनपछि नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता, वैदेशिक रोजगार व्यवसायी र शुभेच्छुकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।




























