काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको लगानीसँगै व्यक्तिगत सुरक्षालाई समेत प्राथमिकतामा राख्दै १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)सँग गरेको सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध ग्राहकले सदस्यताको स्तरअनुसार दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।
हिमालयन बुलियनका प्रतिनिधि राकेशकुमार अडुकियाका अनुसार Silver Membership का ग्राहकले १ लाख रुपैयाँसम्म, Gold Membership का ग्राहकले ५ लाख रुपैयाँसम्म र Diamond Membership का ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।
उक्त बीमा सुविधा आगामी वडादसैंको घटस्थापनादेखि लागू हुने कम्पनीले जनाएको छ। आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै ग्राहकलाई थप सुरक्षा प्रदान गर्ने उद्देश्यले यो सुविधा ल्याइएको अडुकियाले बताए।
हिमालयन बुलियनले विगत २५ वर्षदेखि गरगहनासम्बन्धी क्षेत्रमा सेवा दिँदै आएको जनाएको छ। कम्पनीले Silver, Gold र Diamond गरी विभिन्न सदस्यता योजनामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
SALICO सँगको सम्झौताले ग्राहकलाई गरगहनासम्बन्धी सेवासँगै अतिरिक्त सुरक्षा सुविधा उपलब्ध गराउने कम्पनीको योजनालाई थप बल पुग्ने हिमालयन बुलियनले जनाएको छ। सम्झौता तथा ग्राहक सेवा विस्तारमा कम्पनीका प्रतिनिधिहरू राकेशकुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन आचार्य र राजेन्द्र घिमिरेको सहभागिता रहेको थियो।




























