काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन् । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा ककपिटभित्रै दुई पाइलटबीच विवाद भएपछि एक पाइलटले अर्कालाई छुरा प्रहार गरेको र विमानलाई दुर्घटनातर्फ लैजान खोजेको प्रारम्भिक विवरण सार्वजनिक भएपछि मच्छरको भूमिकाको प्रशंसा भएको हो ।
फ्लाईदुबईको एफजेड–१०७३ उडानमा भएको घटनामा घाइते भएका क्याप्टेन मच्छरले प्रतिकार गर्दै ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा चालक दलका सदस्यले कथित आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिन सकेको बताइएको छ । विमानमा चालक दलका सदस्यसहित १७४ जना सवार थिए ।
नेतान्याहुले सामाजिक सञ्जाल एक्समार्फत मच्छरको प्रशंसा गर्दै उनको साहसका कारण विमानमा रहेका यात्रुको ज्यान जोगिएको बताएका छन् । उनका अनुसार मच्छरले आफ्नो जीवन जोखिममा रहे पनि प्रतिकार गर्दै ककपिटको नियन्त्रण कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
‘उनले १७४ जनाको ज्यान जोगाए, जसमा इजरायली नागरिक पनि थिए,’ नेतान्याहुले भनेका छन् । उनले घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनलाई ‘सच्चा नायक’को संज्ञा दिएका छन् ।
घटनाका क्रममा विमानले उडानमै अन्तर्राष्ट्रिय आपत्कालीन संकेत प्रसारण गरेको थियो । फ्लाइट ट्र्याकिङ विवरणलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यमले विमानले सुरुमा आपत्कालीन अवस्था जनाउने ७७०० र त्यसपछि विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेत दिने ७५०० कोड प्रसारण गरेको जनाएका छन् ।
७५०० कोड प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानसमेत फ्लाईदुबईको विमानतर्फ पठाइएको थियो । तर, पछि इजरायली अधिकारीहरूले विमान अपहरण भएको पुष्टि नगरेको जनाइएको छ ।
घटनापछि विमानलाई साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । विमान त्यहाँ सुरक्षित रूपमा अवतरण गरेपछि घाइते क्याप्टेन मच्छरलाई उपचारका लागि अस्पताल लगिएको हो ।
रियादस्थित भारतीय दूतावासका अनुसार मच्छर तबुकस्थित अस्पतालमा उपचाररत छन् । उनको अवस्था स्थिर रहेको र आवश्यक उपचार भइरहेको दूतावासले जनाएको छ । भारतीय दूतावास तथा जेद्दास्थित वाणिज्य दूतावासले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र परिवारसँग सम्पर्कमा रहेको जनाएको छ ।
यात्रुहरूलाई उद्धार गर्न फ्लाईदुबईले अर्को विमान पठाएको थियो । उक्त विमान करिब १८० यात्रुसहित इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाइएको छ ।
क्याप्टेन मच्छर फ्लाईदुबईमा प्रत्यक्ष प्रवेशबाट क्याप्टेनका रूपमा कार्यरत अनुभवी पाइलट हुन् । व्यावसायिक उड्डयन क्षेत्रमा उनको १३ वर्षभन्दा बढीको अनुभव रहेको र करिब ९ हजार ७५० घण्टा उडान अनुभव रहेको बताइएको छ । उनले अधिकांश समय बोइङ–७३७ विमान उडाएका छन् ।
फ्लाईदुबईमा आबद्ध हुनुअघि उनले भारतको एक एयरलाइन्समा करिब ११ वर्ष काम गरेका थिए । उक्त कम्पनीमा उनी लाइन ट्रेनिङ क्याप्टेनका रूपमा समेत कार्यरत रहेको जनाइएको छ ।
घटनामा संलग्न भनिएका अर्का पाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । घटनाको वास्तविक कारण र विमानभित्र भएको विवादबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
घटनापछि नेतान्याहुले इजरायली तथा गैरइजरायली विमानको सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । नेतान्याहुका अनुसार प्रारम्भिक प्रमाणले एक पाइलटले अर्का पाइलटलाई छुरा प्रहार गरेको र विमानलाई दुर्घटनातर्फ लैजाने प्रयास गरेको देखाएको छ । एएनआई




























