काठमाडौं , इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूलाई मुक्त गराउन वार्ता सुरु गर्ने घोषणा गर्नुका साथै गाजा सहरमा ठूलो सैन्य कारबाही गर्ने योजनालाई पनि स्वीकृति दिएका छन्।
बिहीबार राति गाजाका लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, हामीले गाजा सहर नियन्त्रणमा लिई हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौँ। यसका साथै, बन्धकहरूलाई छुटाउने काम पनि अगाडि बढ्नेछ।
यद्यपि, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई अस्वीकार गरेका छन्। उक्त प्रस्तावमा बाँकी बन्धकमध्ये आधालाई रिहा गर्ने उल्लेख थियो। यसअघि, हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्तावलाई अस्वीकार गरी सम्झौतामा बाधा पुर्याएको आरोप लगाएको थियो।
इजरायली अधिकारीहरूका अनुसार, गाजामा रहेका ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास गरिएको छ। यसैबीच, बिहीबार इजरायली सेनाले गाजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको बताइएको छ।
इजरायली सेनाले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ भने अन्तर्राष्ट्रिय संस्थाहरू र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ।



























