काठमाडौं। नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौंबाट एकपछि अर्कोलाई पक्राउ गरिरहेको छ । नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा नयाँ रहस्य खुल्दै गएका छन्।
पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा केहीदिन अघि पक्राउ परे । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको रहस्य ट्राभल्स सञ्चालकबाट खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ ‘घुस’ दिएको मनोज र पदमले बयानमा यो रहस्य खुलाएका हुन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । निमा छिरिङ ट्राभल्सको सम्पर्कमा आएका ३ सय जनालाई खड्काले ‘सेटिङ’मा विदेश जान अनुमति दिएका हुन् । भिजिट भिसामा विदेश पठाएबापत आउने कमिशन खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी सञ्चालित होटल बाल्टिक इनमा गएर लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइलबाट थप अनुसन्धान गर्ने क्रममा हप्ता–हप्ता दिनमा मोबाइल नै परिवर्तन हुने गरेको नयाँ तथ्य समेत फेला परेको छ। हालसम्म पक्राउ परेका ३२ जनामध्ये अध्यागमन र वायु सेवाका कर्मचारीमाथिको अनुसन्धानका क्रममा उनीहरुले हप्ता हप्तामा मोबाइल परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।




























