काठमाडौं : विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारीको सङ्ख्या कम भएकाले फोन नउठ्ने समस्याको समाधानका लागि सरकारले महत्त्वपूर्ण कदम चालेको छ। अब नेपाली दूतावासहरूमा एआई च्याटबोट प्रणाली र कल सेन्टर सेवा सञ्चालनमा आउने भएको छ। यो प्रविधि सुरुमा संयुक्त अरब इमिरेट्स (युएई ) बाट पाइलट प्रोजेक्टका रूपमा सुरु गरिने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । त्यसपछि अन्य देशहरूमा पनि विस्तार गरिने सरकारको लक्ष्य छ ।
श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैर-आवासीय नेपाली सङ्घ (युएई ) बीचको सहमतिअनुसार श्रम सञ्चारु एपमा एआई च्याटबोट र कल सेन्टरको एकीकरण गर्ने कार्य कार्य भएको छ ।

आज श्रम मन्त्री शरद सिंह भण्डारी र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीसमक्ष एनआरएनए को प्राविधिक टोलीले यस प्रणालीको डेमो प्रस्तुत गरेको थियो। श्रम मन्त्रीसँगको छलफलमा यो प्रणालीलाई युएईबाट पाइलट प्रोजेक्टका रूपमा सुरु गरी क्रमशः सबै देशहरूमा लागू गर्दै जाने सहमति भएको छ।
श्रम सञ्चारु एपसँग एआई च्याटबोट र कल सेन्टरको एकीकरणले विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने समस्याको समाधान हुने विश्वास गरिएको छ। यसका साथै, यस डिजिटल प्रणालीबाट विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा र परामर्श लगायतका विभिन्न समस्याहरूमा पनि सहयोग प्राप्त गर्न सक्नेछन्। यस कार्यमा श्रम मन्त्री शरद सिंह भण्डारी र परराष्ट्र मन्त्री आरजु राणा देउवाको सकारात्मक पहल रहेको छ ।



























