नेपाल सरकारको रोजगारी पोर्टल श्रम संसार र नागरिक एप अब एक आपसमा जोडिएका छन्। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच दुवै प्लेटफर्म औपचारिक रूपमा आबद्ध भएको घोषणा गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नागरिक एपबाटै श्रम संसार पोर्टल चलाउन सकिने सुविधाको उद्घाटन गर्नुभएको छ। यस नयाँ व्यवस्थाले रोजगारी खोज्नेहरूलाई अझै सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
नागरिक एपमार्फत श्रम संसार पोर्टल खोल्दा अब प्रयोगकर्ताले आफूले रोजेको रोजगारीको विज्ञापन सबैभन्दा पहिले देख्न सक्नेछन्। यसका साथै, रोजगारीका लागि आफ्नो बायोडाटा अनलाइनबाटै पठाएर आवेदन दिन सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
यो नयाँ सुविधा सहितको नागरिक एपको पछिल्लो संस्करण (2.0.74) एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा अद्यावधिक (अपडेट)को रूपमा आइसकेको छ। प्रयोगकर्ताहरूले आफ्नो एप अद्यावधिक गरेर श्रम संसार पोर्टल लगायतका नयाँ सेवाहरूको प्रयोग गर्न सक्नेछन्।




























