बैंकक, थाइल्याण्ड: गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) थाइल्याण्डको १२औँ राष्ट्रिय अधिवेशनबाट महेन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको छ। यससँगै श्रेष्ठ एनआरएनए थाइल्याण्डको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
विगत ३० वर्षदेखि थाइल्याण्डमा बसोबास गर्दै आएका श्रेष्ठ सफल व्यवसायी हुन्। उनले थाइल्याण्डमा रिसोर्ट, होटल र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।
नवनिर्र्वाचित कार्यसमितिमा कान्छा गुरुङ (गाबो) वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै, तीन जना उपाध्यक्षहरूमा राजु बलामी, सारसिङ गुरुङ र आतिश कृष्ण श्रेष्ठ रहेका छन्। महासचिवको जिम्मेवारी निरज वैद्यले सम्हालेका छन्।
सचिवहरूमा राज बहादुर साउँद र भूषण सिंह नेपाली निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठ चुनिएका छन्। महिला संयोजकको पदमा मेघा बजाज रहेकी छिन्।
कार्यसमितिका सदस्यहरूमा टेक सिंह भाट, मनोज अर्याल, योगेन्द्र क्षेत्री, सुरेन्द्र रानाभाट र अतीत कोइराला रहेका छन्।
अधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) केन्द्रीय सदस्यमा भविन्द्र बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ।



























