गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सम्पन्न निर्वाचनमा सन्तोष कुँवर अध्यक्ष पदमा भारी मतान्तरले विजयी भएका छन्। उनले ६८३९ मत प्राप्त गरेका हुन्।
झन्डै एक दशकदेखि एनआरएनएमा सक्रिय कुँवर यसअघि संघको महासचिवको जिम्मेवारीमा थिए। विजयी भएसँगै उनले संघलाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने तथा अष्ट्रेलियाली संघीय र राज्य सरकारहरूबाट अनुदान भित्र्याएर २ मिलियन डलरको स्रोत सुनिश्चित गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउने बताएका छन्। उनले नेपाल महोत्सव र खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई विस्तार गर्ने र नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणमा दातृ निकायहरूसँग साझेदारी गर्ने योजना पनि सुनाए।
कुँवरको प्यानलले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको छ। उपाध्यक्षमा बबिन मिश्र ७२६१ मत , महासचिवमा चुणमणि सापकोटा ७०३० मत, कोषाध्यक्षमा निजन चौलागाई ७०८७ मत, सचिवमा कल्याण खड्का ७१८० मत निर्वाचित भएका छन्। यस्तै, नारी निकुञ्ज संयोजकमा रिज्नो अधिकारी र राष्ट्रिय युवा संयोजकमा पुकार घिमिरे विजयी भएका छन्। यसले अध्यक्ष कुँवरको नेतृत्वमा नयाँ कार्यसमितिले अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने अपेक्षा गरिएको छ।



























