काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको एक अग्रणी संस्था नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले आफ्नो १७औं वार्षिकोत्सव विविध सामाजिक कार्यक्रमका साथ मनाएको छ।
शुक्रबार केक काटेर वार्षिकोत्सवको सुरुवात गर्दै कम्पनीले सन्यास आश्रममा रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । कम्पनीले वैदेशिक रोजगारका क्रममा कुवेतमा घाइते भई खुट्टा गुमाएका झापाका रन्जन उप्रेतीलाई करिब दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सन् २००८ मा स्थापित नीलकमल ह्युमन रिसोर्स विगत केही वर्षदेखि सर्वाधिक कामदार पठाउने कम्पनीको सूचीमा शीर्ष स्थानमा रहँदै आएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै उक्त म्यानपावरले ८ हजार ६ सय ७३ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको थियो।
कम्पनीका अध्यक्ष मेघनाथ भुर्तेलले यस वर्षदेखि वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका सन्तानलाई १२ कक्षासम्म छात्रवृत्ति दिने घोषणा गर्दै सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए । बागमती प्रदेश सभाका सांसद श्रीराम लामिछानेले नीलकमलको योगदानको प्रशंसा गर्दै वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि सरकार र व्यवसायी संघले पहल गर्नुपर्ने बताए ।



























