काठमाडौं : इस्राइलको केयरगिभर क्षेत्रमा रोजगारीका लागि छनोट भएका थप ४१ नेपाली श्रमिकलाई करार सम्झौता गर्न वैदेशिक रोजगार विभागले बोलाएको छ।
विभागले सोमबार सूचना प्रकाशित गर्दै छनोट सूचीमा परेका उम्मेदवारलाई आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको हो। नेपाल सरकार र इस्राइल सरकारबीचको समझदारीअनुसार सञ्चालित जी टु जी प्रक्रियाअन्तर्गत श्रमिक छनोट भएको हो। वैदेशिक रोजगार विभागका अनुसार श्रमिकले यसअघि फारम भरेर श्रम स्वीकृति पाइसकेका हुन्।
बोलावटमा परेका श्रमिकहरूलाई साउन २१ गते बिहान साढे १० बजे विभागको ताहाचल कार्यालयमा उपस्थित भई सम्झौता प्रक्रिया पूरा गर्न भनिएको छ।
उनीहरूले पासपोर्ट, स्वास्थ्य प्रमाणपत्र, २२ इञ्चको फोटो, म्यान्टु टेष्ट रिपोर्ट लगायतका कागजात अनिवार्यरूपमा साथमा ल्याउन भनिएको छ। ‘रिपिट टेष्टिङ अफ फाइभ’ लेखिएको रिपोर्ट भएमा अस्वीकृत हुने सूचनामा उल्लेख छ।




























