काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी १५ अगस्टमा लन्डनस्थित गोर्खा कार्पिकनमा बेलायतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने भएका छन्। आफ्नो बेलायत भ्रमणका क्रममा घिसिङले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने तयारी गरेका हुन्।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र एनआरएनए इङ्ल्याण्ड राज्यपरिषद्की अध्यक्ष राममाया विष्ट थापाले यस भेटघाटको संयोजन गरेका हुन्। पछिल्लो समय कुलमान घिसिङ विदेशमा रहेका नेपाली समुदायसँग जोडिने क्रममा छन्, र सोहीअनुरूप उनी बेलायतका नेपालीहरूसँग पनि संवाद गर्न लागेका हुन्।
कुनै बेला १८ घण्टाभन्दा बढी लोडसेडिङ हुने नेपालमा उनकै ब्यवस्थापनमा लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो समय कुलमानलाई उज्यालो नेपालका नायकका रुपमा चिन्ने गरिन्छ । घिसिङलाई एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र एनआरएनए इङ्ल्याण्ड राज्यपरिषद्की अध्यक्ष राममाया विष्ट थापाले नेतृत्व गरेको संस्थाले मिट एण्ड ग्रिट राखेको जनाइएको छ ।
कुलमानजस्ता व्यक्तित्वको भेट अर्थपूर्ण हुने इङ्ल्याण्ड राज्यपरिषद्की अध्यक्ष थापा बताउँछिन् । झन्डै दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएकी थापा सामाजिक क्षेत्रमा सक्रिय छिन्। मकवानपुरको थाहा नगरपालिका स्थायी ठेगाना भएकी उनले नेपालमा प्राकृतिक विपदका बेला राहत सहयोग र मानवीय सेवामा पनि योगदान पुर्याउँदै आएकी छिन्।



























