काठमाडौं— हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस, यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘दिगो विकास र सुनौलो भविष्यको सार स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मनाइने यो दिवसको अवसरमा देशभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।
यस दिवसको मुख्य समारोह राष्ट्रिय सभागृहमा हुनेछ, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। दिवसलाई भव्यताका साथ मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित एक मूल समारोह समिति गठन गरिएको थियो। यसैगरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय पनि बनाइएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य नेपालको संविधानमा उल्लेखित युवा सम्बन्धी व्यवस्थालाई व्यवहारमा उतार्नु, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानुन निर्माणमा जोड दिनु, र युवाका मुद्दाहरूमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सचेतना जगाउनु हो। यस वर्षको नाराले दिगो विकासका लागि स्थानीय युवाको भूमिकालाई विशेष महत्त्व दिएको छ।



























