काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय लगायत अत्यावश्यक सेवा प्रदान गर्ने भवनहरूमा भएको क्षति अहिले राष्ट्रकै चिन्ताको विषय बनेको छ ।
यस्ता संरचनाहरू पुनः सञ्चालनमा ढिला हुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेका बेला घर निर्माण फाउण्डेशनले राष्ट्रकै पुनर्निर्माणका लागि हात अघि बढाउने घोषणा गरेको छ ।
फाउण्डेशनले स्कील सेवा प्रालीसँगको सहकार्यमा देशभरका क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माण गर्ने विशेष अभियान सुरु गर्ने तयारी गरेको छ । फाउण्डेशनले सार्वजनिक अपिल जारी गर्दै भनेको छ, “देशको लागि भत्किएका संरचना पुनः सञ्चालनका लागि हामी गर्छौं ।”
फाउण्डेशनका निर्देशक महेश तिमिल्सिना, सताक्षी मिश्र र प्रशान्त प्रधानको नेतृत्वमा अघि बढ्न लागेको यो परियोजना केवल मर्मतको काम मात्र नभई राष्ट्र पुनःनिर्माणको अभियान भएको बताइएको छ ।
अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय, एनजीओजस्ता सार्वजनिक सेवामा अत्यावश्यक भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिने बताइएको छ ।



























