काठमाडौं । नेपालबाट रोजगारीको खोजीमा विदेशिने युवाहरूको संख्यामा वृद्धि देखिएको छ। वैदेशिक रोजगार विभागको भदौ महिनाको मासिक प्रगति विवरण अनुसार, ६७ हजार ९ सय ७२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका रेकर्ड छ । यो तथ्यांकले नेपालीहरूमा वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै उच्च रहेको देखाउँछ।
तथ्यांकअनुसार, भदौमा कुल ६७ हजार ९ सय ७२ नेपाली रोजगारीका लागि विदेश गएका छन्। यीमध्ये अधिकांश म्यानपावर कम्पनीमार्फत गएको पाइएको छ। म्यानपावर कम्पनीमार्फत जानेको संख्या ३३ हजार १ रहेको छ, जुन कुल संख्याको झन्डै आधा हो। यसले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने प्रचलन अझै बलियो रहेको पुष्टि गर्छ।
श्रम स्वीकृति लिने अन्य माध्यमहरू छन् व्यक्तिगत श्रम स्वीकृति लिएर ११ हजार ७ सय ७५ जना, जीटुजी (सरकार-सरकार) मार्फत ९०१ जना, पुनः श्रम स्वीकृति मार्फत २२ हजार २ सय ४० जना र वैधानिकीकरणमार्फत ५५ जना विदेश गएका छन्। समग्रमा ३४ हजार ९ सय ७२ जना रहेका छन् । यसले व्यक्तिगत पहल र पुनः श्रम स्वीकृति लिने प्रक्रिया पनि उत्तिकै रहेको छ।
शीर्ष १० म्यानपावर कम्पनी
प्याराडाइज इन्टरनेशनल प्रा.लि. ८२१
नीलकमल ह्युमन रिसोर्स प्रा.लि. ५८३
अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि. ४६४
एसओएस म्यानपावर सर्भिस प्रा.लि. ४२९
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि. ३९१
लुलु इन्टरनेसनल प्रा.लि.३८६
द रिभर ओभरसिज प्रा.लि. ३४५
सान नेपाल प्रा.लि. ३२९
एसिया लिंक सर्भिस प्रा.लि. ३२६
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.२९५
शीर्ष स्थानमा रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले मात्रै ८ सय २१ जना कामदारलाई विदेश पठाएको छ। त्यसैगरी, नीलकमल ह्युमन रिसोर्स प्रालि र अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रालि क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यो तथ्यांकले देशमा रोजगारीका अवसरको कमी र वैदेशिक रोजगारी प्रति युवाहरूको बढ्दो निर्भरतालाई संकेत गर्छ। यसले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका कति महत्त्वपूर्ण छ भन्ने पनि पुष्टि समेत गर्छ।




























