काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) मार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) लाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। शहरी विकास मन्त्री कुलमान घिसिङले हिजो साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण प्रक्रिया सम्पन्न गरेका हुन्।
यससँगै नेपाली क्रिकेटको संरचनागत विकासमा नयाँ ऊर्जा थपिएको छ। रङ्गशाला क्यानको जिम्मेवारीमा गएपछि आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई अझ व्यवस्थित, आधुनिक र प्रभावकारी रूपमा संचालन गर्न सकिने अपेक्षा गरिएको छ।
शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण भएको रङ्गशालाको पहिलो चरणअन्तर्गत तयार पारिएका प्यारापेट र फ्लडलाइट आइतबार राखेप तथा क्यानलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। फ्लडलाइट सञ्चालनमा आएसँगै कीर्तिपुर रङ्गशाला मात्र होइन, नेपालको क्रिकेट भविष्य नै उज्यालो बन्दै गएको सरोकारवालाहरूको प्रतिक्रिया छ। वर्षौंदेखिको पूर्ण सुविधायुक्त क्रिकेट पूर्वाधार निर्माण गर्ने राष्ट्रिय आकांक्षा अब वास्तविकतामा रूपान्तरित हुँदैछ।
मन्त्री घिसिङका अनुसार शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको बताए । उनका अनुसार आगामी तीन वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएपछि नेपालले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक, भव्य र पूर्ण सुविधा सम्पन्न क्रिकेट रङ्गशाला पाउनेछ।
पहिलो चरण सफल बनाउन खटिएका आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सबै सरोकारवालाप्रति मन्त्री घिसिङले आभार व्यक्त गरेका छन्।
यसैबीच, सोमबारबाट सुरु हुने एनपिएलमा सहभागी हुने सबै खेलाडी, टिम तथा क्रिकेटप्रेमीलाई शुभकामना दिँदै कीर्तिपुरको यस उज्यालो मैदानबाट नेपाली क्रिकेटले अझ उज्यालो हुने बताए ।



























