काठमाडौं । इजरायल–अमेरिका र इरानबीच जारी युद्धले खाडीका देशहरू प्रभावित बनेका छन्। यसबीच खाडीमा रहेका करिब ५४ हजार ७ सय ८६ नेपालीले आफ्नो अवस्था परराष्ट्र मन्त्रालयको अनलाइन पोर्टलमार्फत जानकारी दिएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, ‘अनलाइनमा दिएको विवरणका आधारमा हामीले सुरक्षित र असुरक्षित नेपालीहरू पहिचान गरेका छौं। अत्यन्त असुरक्षित अवस्थामा रहेका नेपालीको उद्धार प्राथमिकताका आधारमा अघि बढाइनेछ।’
खाडीका देशमा युद्धले उडान सेवा अवरुद्ध भए पनि यूएईबाट आंशिक उडान पुनःसञ्चालनमा आएको छ भने कतारबाट उडान अझै रोकिएको छ। यूएई, कतार, साउदी, कुवेत र बहराइनमा हवाई आक्रमण र सुरक्षा चुनौतीहरू जारी छन्। यूएईमा आक्रमणमा परी एक नेपालीको मृत्यु भइसकेको छ।
युद्धका कारण ट्रान्जिटमा अलपत्र परेका नेपालीको अवस्था पनि गम्भीर छ। कुवेत एयरलाइन्सले खाने र बस्न अस्वीकार गरेका ५० जना ट्रान्जिटमा रहेका नेपालीलाई कुवेतस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघले समन्वय गरी आवश्यक व्यवस्था मिलाएको छ।
परराष्ट्रले खाडीमा रहेका सबै नेपालीलाई अनलाइन फाराम भर्न आग्रह गर्दै, आपतमा परेकाहरूसँग रोजगारदातासँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले युद्ध प्रभावित मुलुकहरूसँग समन्वय सुदृढ गर्दै नेपाली श्रमिकको हक र सुरक्षामा विशेष जोड दिएको छ।
यूएईबाट फ्लाई दुबई र एयर अरेबिया सीमित उडान गर्दै आएका छन् भने साउदी र ओमानमा उडान सेवा पुनः सुरु भएको छ। कतार एयरवेजले भने युरोपका सीमित गन्तव्यमा उडान गरिरहे पनि नेपाल उडान अझै सञ्चालनमा छैन।
खाडीमा नेपाली श्रमिकहरूको सुरक्षा र राहतमा सरकार विशेष सतर्कता अपनाइरहेको छ।



























