काठमाडौं । मलेसिया पठाइदिने भन्दै सेवाग्राहीबाट २ लाख ७५ हजार रुपैयाँ असुलेको गुनासोपछि ललितपुरको जावलाखेलस्थित मुन म्यानपावर मा श्रम मन्त्रालय टोलि सहित विभागले छापा मारेको छ।
मलेसिया जान तयारीमा रहेका एक युवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएपछि शुक्रबार प्रहरीसहितको अनुगमन टोली म्यानपावरमा पुगेको थियो।
छापाका क्रममा म्यानपावर कार्यालयबाट ४३७ वटा राहदानी र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको हो। बरामद नगदको कुनै रसिद फेला नपरेको श्रम मन्त्रीको स्वकीय सचिव सरोज यादवले बताए।
सोहि क्रममा अनियमितता देखिएपछि म्यानपावर कम्पनी सिल गरिएको छ भने थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आए सचिवालय २४ घण्टा सक्रिय रहने र आवश्यक कारबाही तत्काल अघि बढाइने बताए।



























