काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैदेशिक रोजगार व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठलाई पार्टीको केन्द्रीय “श्रम तथा उपभोक्ता हित विभाग” सदस्य पदमा मनोनीत गरेको छ।
रास्वपाले श्रम, रोजगारी, उपभोक्ता अधिकार तथा सुशासनका मुद्दालाई प्राथमिकतामा राख्दै विभागीय संरचनालाई सक्रिय बनाउने रणनीति अघि बढाइरहेको सन्दर्भमा श्रेष्ठको मनोनयनलाई सोही उद्देश्य अनुसार महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
पार्टी स्रोतका अनुसार “श्रम तथा उपभोक्ता हित विभाग” ले श्रमिक अधिकार संरक्षण, सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन, श्रम बजार सुधार, उपभोक्ता हित संरक्षण, बजार अनुगमन तथा श्रम क्षेत्रसँग सम्बन्धित नीतिगत सुझाव दिने काम गर्दछ । विभागले श्रमिक, व्यवसायी, सरकार तथा सरोकारवालाबीच समन्वय गर्दै श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने उक्त विभागको प्रमुखमा श्याम बाबु गौंतम छन् ।
वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि ब्यवसाय गर्दे आएका श्रेष्ठ एलाइन्स ह्युमन रिसोर्सेस प्रालिका सञ्चालकसमेत हुन्। उनलाई दिएको जिम्मेवारीले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री बनाउन थप पहल अघि बढ्ने विश्वास गरिएको छ। श्रम तथा आप्रवासन क्षेत्रको व्यावहारिक अनुभवका कारणले विभागीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने पार्टी नेतृत्वको बुझाई छ।



























