काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीलाई राहत उपलब्ध गराउन हङकङमा रहेका युवा व्यवसायी रबिनकुमार नाल्बोको पहलमा प्रवासबाट आर्थिक सहयोग जुटाइएको छ। नाल्बोको पहलमा प्रवासमा रहेका नेपाली तथा सहयोगी व्यक्ति र संस्थाबाट संकलित रकम जिल्ला होटल व्यवसायी संघ काठमाडौंमार्फत प्रभावित व्यवसायीलाई उपलब्ध गराइएको हो।
भदौ १० गते रसुवाको चीनसँगको सीमा क्षेत्रनजिक आएको पहिरोपछि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको थियो। बाढीबाट होटल तथा पर्यटन व्यवसायसमेत प्रभावित भएपछि पीडित व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको थियो।
विपत्तिमा परेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नाल्बोले आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्दै प्रवासमा रहेका नेपाली तथा अन्य सहयोगीलाई समेत स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन आह्वान गरेका थिए। उनको आह्वानपछि विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक सहयोग जुटेको जनाएको छ।

संकलित सहयोगमा होमराज लाबुङबाट १० हजार, सुरेश नाल्बोबाट १० हजार, लोकराज श्रेष्ठबाट ६ हजार, प्रकाश आङबुहाङबाट १० हजार, शुक्रराज मगरबाट १० हजार, राजकुमारी मादेनबाट १० हजार, सिताबाट १० हजार, कला फेम्बूबाट १० हजार र प्रबिन नाल्बोबाट १० हजार रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै नरेन्द्र आङबुहाङबाट १२ हजार, अनमोल तामादेनबाट १० हजार, विजय खड्काबाट ६ हजार, रोबेल नाल्बोबाट १० हजार, देवाशीष पौल परिवारबाट ३० हजार, एडवर्ड फङबाट ६० हजार, भोजराज साम्बाबाट १० हजार, कोलिन चिओङबाट १ लाख तथा मोना फाउन्डेसनमार्फत विष्णुकुमार थेबेबाट २ लाख ४ हजार रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ।
यसैगरी पानबाट २ हजार हङकङ डलर , गम्मर सिंह सिरिसबाट १० हजार, जुन राईबाट ४ हजार, अर्जुन पाहिमबाट १० हजार र मनीक नेवाबाट १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको विवरण सार्वजनिक गरिएको छ।
प्रवासबाट संकलित उक्त सहयोगसहित जिल्ला होटल व्यवसायी संघ काठमाडौंको टोली बुधबार नुवाकोटको विदुरस्थित होटल स्क्वायर पुगेको थियो। टोलीले बाढीबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको हो।
राहत वितरण कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका प्रतिनिधि, नुवाकोटका होटल व्यवसायी, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका पदाधिकारी तथा स्थानीय व्यवसायी सहभागी थिए।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विपत्तिका बेला व्यवसायीबीचको सहकार्य र एकता आवश्यक रहेको बताए। नुवाकोट, रसुवा र धादिङमा बाढीबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि समेत सहयोग र सहकार्यलाई निरन्तरता दिने उनले बताए।
नाल्बोले प्रवासमा रहेका नेपालीले आफ्नो व्यस्तता र व्यक्तिगत जिम्मेवारीका बीच विपत्तिमा परेका स्वदेशका व्यवसायीलाई सहयोग गर्न देखाएको तत्परताप्रति सबैमा धन्यवाद व्यक्त गरेका छन्।
संघले राहत वितरणसँगै बाढीबाट प्रभावित परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने योजना पनि अघि सारेको छ। पहिलो चरणमा प्रभावित क्षेत्रका १०० जनालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता संघले यसअघि नै व्यक्त गरिसकेको छ।
विपत्तिमा परेका होटल तथा पर्यटन व्यवसायीको तत्काल आवश्यकता पूरा गर्नुका साथै उनीहरूलाई पुनः व्यवसायमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने संघले जनाएको छ।





























