काठमाडौं । पोखरा–दुबई प्रत्यक्ष हवाई सम्पर्कको तयारी भइरहेका बेला नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच पर्यटन सम्बन्ध थप विस्तार गर्ने विषयमा छलफल भएको छ। नेपालले यूएईको पर्यटन बजारमा आफ्नो उपस्थिति बढाउने तथा त्यहाँका पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने उद्देश्यले दुबईमा रहेका प्रमुख ट्राभल तथा टुर अपरेटरसँग छलफल गरेको हो।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नेपालसँग पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक दुबईका प्रमुख ट्राभल तथा टुर कम्पनीका प्रतिनिधिसँग ‘आउटरिच एन्ड नेटवर्किङ’ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विभिन्न ट्राभल तथा टुर कम्पनीका महाप्रबन्धक, व्यवस्थापक तथा विभागीय प्रमुख सहभागी थिए।
नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुन लागेको र पोखरालाई दुबईसँग प्रत्यक्ष हवाई सम्पर्कले जोड्ने तयारी भइरहेका सन्दर्भमा आयोजित कार्यक्रममा दुई देशबीच पर्यटन आवागमन बढाउने तथा व्यावसायिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको हो।
कार्यक्रममा सहभागी ट्राभल तथा टुर व्यवसायीबाट नेपालमा पर्यटक आकर्षित गर्ने सम्भावना, पर्यटन बजारको प्रवर्द्धन तथा नेपालमा उपलब्ध पर्यटकीय गन्तव्यबारे बजार विस्तार गर्न सकिने उपायका विषयमा सुझाव तथा प्रतिक्रिया लिइएको महावाणिज्यदूतावासले जनाएको छ।
दुबई अन्तर्राष्ट्रिय हवाई सम्पर्कको महत्वपूर्ण केन्द्र रहेकाले पोखरा–दुबई प्रत्यक्ष उडान सञ्चालनमा आए नेपालमा विदेशी पर्यटकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी यूएई हुँदै मध्यपूर्व, युरोप, अफ्रिका तथा अन्य मुलुकबाट नेपाल आउने पर्यटकका लागि पोखरा पुग्ने नयाँ हवाई मार्ग खुल्ने सम्भावना रहनेछ।
प्रत्यक्ष हवाई सम्पर्कसँगै ट्राभल तथा टुर व्यवसायीबीचको सहकार्य विस्तार गर्न सके नेपालमा पर्यटक आगमन बढाउन तथा पर्यटनसँग सम्बन्धित व्यवसायको बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। होटल, ट्राभल, ट्रेकिङ, पर्वतीय तथा साहसिक पर्यटनलगायत क्षेत्रमा समेत यसको प्रभाव पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।
कार्यक्रममा प्राप्त सुझाव तथा प्रतिक्रियालाई आगामी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ। नेपाल र यूएईबीच पर्यटन क्षेत्रमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै नेपाललाई यूएईको बजारमा थप प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने महावाणिज्यदूतावासले जनाएको छ।



























