काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको नयाँ म्युजिक भिडियो ‘सिम सिम पानी’ भोली (अशोज २ गते ) सार्वजनिक हुने भएको छ। नेपाली मौलिक परिवेश, पारिवारिक कथावस्तु र आकर्षक दृश्यलाई समेटेर तयार पारिएको भिडियोको छायांकन गागलफेदीस्थित सुन्दर फिल्म रिसोर्टमा गरिएको हो।
उपेन्द्र पन्तको स्वर तथा शब्द रहेको गीतमा गंगा सोनामले महिला स्वर दिएकी छन्। भिडियोमा लोकप्रिय अभिनेत्री गरिमा शर्मा र अभिनेता सन्दीप बाबु लोहनी मुख्य भूमिकामा देखिएका छन्। उनीहरूलाई भिडियोमा जोडीका रूपमा प्रस्तुत गरिएको छ।
भिडियोमा निर्माता सरोज कुमार पाण्डे ‘काका’को भूमिकामा देखिएका छन्। वरिष्ठ कलाकार हिउँबाला गौतम ‘सानीआमा’को भूमिकामा प्रस्तुत भएकी छन्। बाल कलाकारका रूपमा सान्युग गौचन र समिया कार्कीले अभिनय गरेका छन्।
भिडियोको निर्माण उमा गौचन र सरोज पाण्डेले गरेका हुन् भने निर्देशन नितिन चन्दले गरेका छन्। कोरियोग्राफी दावा तामाङको रहेको छ।
गागलफेदीको प्राकृतिक सौन्दर्यलाई भिडियोमा विशेष रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। ग्रामीण परिवेश, नेपाली जीवनशैली र पारिवारिक सम्बन्धलाई कथाको आधार बनाइएको भिडियोमा प्राकृतिक दृश्यसँगै कलाकारहरूको अभिनयलाई पनि प्राथमिकता दिइएको छ।
मुख्य कलाकार गरिमा शर्मा र सन्दीप बाबु लोहनीको जोडीलाई भिडियोमा नयाँ ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ। त्यस्तै, सरोज पाण्डे र हिउँबाला गौतमको भूमिकाले कथालाई पारिवारिक आयाम दिने अपेक्षा गरिएको छ।
निर्माण पक्षका अनुसार गीतको भाव, कथा र दृश्यलाई एकैसाथ जोडेर भिडियो तयार गरिएको छ। मौलिक नेपाली परिवेशमा आधारित भएकाले दर्शकले भिडियोमा ग्रामीण जीवनशैलीसँगै पारिवारिक सम्बन्ध र भावनात्मक पक्षसमेत देख्न पाउनेछन्।



























