
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष महाधिवेशन पछि सम्पन्न निर्वाचनबाट डिक बहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार खत्रीले ३४७ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ मत र पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन्।
निर्वाचनको नतिजा अनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्। उनले २४१ मत प्राप्त गरेका छन्। द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मत सहित विजयी हुँदा तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा हरि डांगी २७३ मत, सचिवमा केदारनाथ अधिकारी २९४ मत र कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भएका छन्।
सदस्य पदमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जीसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई र भावना गजुरेललगायत निर्वाचित भएका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल ७३६ मत खसेको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयनसँगै संघमा नेतृत्व हस्तान्तरण भएको छ। नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगार व्यवसायीका हकहितका विषय उठान गर्नुका साथै व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान, सरकारसँग समन्वय र नीतिगत सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगार क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिन्छ। मुलुकमा भित्रिने विप्रेषण र लाखौं नेपालीको रोजगारीसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा पछिल्ला वर्षहरूमा विभिन्न नीतिगत तथा व्यावसायिक चुनौती देखिँदै आएका छन्।
व्यवसायीहरूले नयाँ नेतृत्वले संघको संस्थागत क्षमता अभिवृद्धि गर्दै व्यवसायीका साझा सरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।



























