काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले शारजाहस्थित प्रतिष्ठित ज्ञान तथा सांस्कृतिक संस्था हाउस अफ विजडमकी कार्यकारी निर्देशक महामहिम मारवा अल अक्रुबीसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी शिक्षा, संस्कृति, नवप्रवर्तन तथा ज्ञानको आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार–विमर्श भएको नेपाली दूतावासले जनाएको छ।
छलफलपछि राजदूत क्षेत्रीले हाउस अफ विजडमको अवलोकन गरेका थिए। अवलोकनका क्रममा उनले आधुनिक वास्तुकलाले सजिएको भवन, बहुभाषिक पुस्तकालय तथा अनुसन्धान र नवप्रवर्तनसँग सम्बन्धित विशेष परियोजना प्रयोगशालाहरूको निरीक्षण गरेका थिए।
दूतावासका अनुसार उक्त भेटले नेपाल र यूएईबीच शैक्षिक, सांस्कृतिक तथा ज्ञानमा आधारित सहकार्यलाई थप मजबुत बनाउन सकारात्मक आधार तयार गरेको विश्वास गरिएको छ।



























