काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपाली युवाका लागि सीप विकास तथा रोजगारीका अवसर विस्तार गर्ने विषयमा फुटवेयर उद्योगसँग आबद्ध एसोसिएसनका प्रतिनिधिसँग छलफल गरेका छन्।
आज मन्त्रालयमा भएको भेटघाटमा फुटवेयर उद्योगका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै विगतमा सञ्चालन भएका सीप विकास, तालिम तथा रोजगारी कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइलाई आगामी कार्यक्रमहरूमा प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा छलफल भएको हो।
छलफलका क्रममा फुटवेयर उद्योगसँग भविष्यमा सहकार्य गर्न सकिने सम्भावित क्षेत्रहरू बारे दुवै पक्षबीच विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री यादवले सरकारले अघि सारेको ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन सरकार र फुटवेयर उद्योगसहित निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे।
आजको छलफलले रोजगारी सिर्जना, मर्यादित श्रमको प्रवर्द्धन तथा व्यवस्थित श्रम–रोजगार प्रणालीको विकासका लागि सरकार र निजी क्षेत्रबीचको निरन्तर संवाद तथा सहकार्य महत्त्वपूर्ण हुने विश्वास मन्त्रालयले जनाएको छ।



























