उद्बब बिश्वकर्मा-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले वैदेशिक रोजगार व्यवसायमा सिन्डिकेट पुनः स्थापित गर्ने प्रयास व्यवसायभित्रकै “अदृश्य शक्तिहरू”बाट भइरहेको आरोप लगाएका छन्।
उनले त्यस्ता शक्तिलाई परास्त गर्न सम्पूर्ण व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए। व्यवसायभित्र सीमित समूहको स्वार्थ पूरा गर्न केही व्यक्तिहरू सक्रिय रहेको दाबी गरे।
उनका अनुसार नेपालभित्रका केही व्यवसायी तथा बाह्य स्वार्थ समूहको प्रभावमा रहेका व्यक्तिहरूले व्यवसायमा एकाधिकार कायम गर्ने उद्देश्यले सिन्डिकेट पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन्।
उनले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन स्थापना नै यस्ता अदृश्य शक्तिको प्रभाव अन्त्य गर्दै व्यवसायीको हकहितको रक्षा, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन तथा व्यवसायलाई स्वतन्त्र र पारदर्शी बनाउने उद्देश्यले गरिएको बताए। एसोसिएसनले सबै व्यवसायीलाई समेटेर कुनै पनि प्रकारको सिन्डिकेटविरुद्ध सशक्त रूपमा उभिने उनको भनाइ थियो।
लामाले व्यवसायीलाई आफ्नो पेशा स्वतन्त्र रूपमा सञ्चालन गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै सीमित समूहको स्वार्थका लागि व्यवसायलाई नियन्त्रण गर्ने प्रयास कुनै पनि हालतमा सफल हुन नदिने बताए। उनले विगतमा पनि विभिन्न समूहले एकाधिकार कायम गर्ने प्रयास गरेको भए पनि व्यवसायीको एकताले ती प्रयास असफल भएको उल्लेख गरे।
उनले नयाँ सरकारले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति, विसंगति तथा एकाधिकार अन्त्य गरी व्यवसायी र श्रमिक दुवैलाई न्याय दिने विश्वास व्यक्त गरे। साथै, व्यवसायीहरू आफैं विभाजित भएमा सिन्डिकेट पक्षधरलाई बल पुग्ने भएकाले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध भएर व्यवसायको हित, स्वस्थ प्रतिस्पर्धा र श्रमिकको अधिकारको पक्षमा उभिन आग्रह गरे।
केही अधिकारी वा अन्य पक्षको संलग्नताबारे उठिरहेका प्रश्नका सम्बन्धमा प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्दै लामाले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन रहुञ्जेल वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट वा एकाधिकार स्थापित हुन नदिने प्रतिबद्धता व्यक्त गरे।



























