काठमाडौं । कलङ्की होटल एण्ड गेष्टहाउस एसोसिएसनको १४औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ। एसोसिएसनका अध्यक्ष रमेश बरालको अध्यक्षतामा आयोजित साधारणसभाको खुला तथा उद्घाटन सत्रमा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शङ्कर भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बा, नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाल, एकता होटल तथा गेष्टहाउस व्यवसायी संघका अध्यक्ष सरोज आले, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खाती, बसुन्धरा होटल व्यवसायी संघका अध्यक्ष देवीप्रसाद कँडेल, नेपाल गेष्टहाउस व्यवसायी संघका अध्यक्ष खडेश्वर सापकोटा, काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव कार्की तथा नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङलगायतको उपस्थिति थियो।
त्यसैगरी बल्खु, कलङ्की तथा कालिमाटी क्षेत्रका प्रहरी वृत्त तथा प्रभागका प्रमुख, विभिन्न सहकारी संस्था, टोल सुधार समितिका पदाधिकारी तथा प्रतिनिधिको पनि कार्यक्रममा सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले नेपालको पर्यटन उद्योगको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। सरकारको भूमिका नीति निर्माण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा केन्द्रित हुने भए पनि पर्यटकलाई गुणस्तरीय आवास, आतिथ्यता र सेवा उपलब्ध गराउने मुख्य जिम्मेवारी होटल व्यवसायीको रहेको उनको भनाइ थियो।
नेपाल आउने पर्यटकलाई आत्मीय सेवा प्रदान गर्दै होटल व्यवसायीले मुलुकको पर्यटन क्षेत्रलाई मजबुत बनाउन योगदान पुर्याइरहेको उल्लेख गर्दै सुवेदीले होटल व्यवसायलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन डिजिटल क्षमता अभिवृद्धि तथा हस्पिटालिटी व्यवस्थापनसम्बन्धी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। होटल व्यवसायीका समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गरिने उनको भनाइ थियो।
खुला सत्रको समापन गर्दै एसोसिएसनका अध्यक्ष रमेश बरालले संस्थालाई वर्तमान अवस्थामा ल्याउन विभिन्न चुनौती र कठिनाइ पार गर्दै अघि बढ्नुपरेको बताए। उनले एसोसिएसनका सदस्य, सल्लाहकार, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै होटल तथा गेष्टहाउस व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा पर्यटन विकासका लागि संस्था अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए।
बरालका अनुसार खुला सत्रपछि बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गर्नुका साथै नयाँ कार्यसमिति चयन गरिनेछ।
विद्यार्थी र योगदानकर्तालाई सम्मान
एसोसिएसनको वार्षिक साधारणसभाका अवसरमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरी उत्तीर्ण भएका छात्र–छात्रालाई सम्मान गरिएको थियो। साथै, एसोसिएसनमा आबद्ध रही संस्थाको विकास तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।
शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै संस्थाको विकास र गतिविधिमा योगदान पुर्याउने व्यक्तिहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान गरेको थियो ।
कार्यक्रममा होटल तथा गेष्टहाउस व्यवसायीबीचको आपसी सहकार्य र व्यावसायिक एकतासँगै आगामी दिनमा राज्य र निजी क्षेत्रबीच हुनुपर्ने सहकार्य, व्यवसायीका समस्या तथा हकहित संरक्षण र व्यवसाय प्रवर्द्धनमा एसोसिएसनले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा वक्ताहरूले आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए। पर्यटन तथा होटल व्यवसायको विकासका लागि राज्य र व्यवसायीबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा उनीहरूले जोड दिएको पहिलो शत्र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।





























