वैदेशिक रोजगार व्यवसाय राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड हो : मेनपावर व्यावसायि रबिन कोइराला
काठमाडौं, साउन १८ — मेनपावर व्यवसायी रबिन कोइरालाले वैदेशिक रोजगार व्यवसाय नेपालको अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार भएको बताएका छन्। उनले लाखौँ नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको यस क्षेत्रले देशमा ठूलो मात्रामा विप्रेषण (रेमिटेन्स) भित्र्याएर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरेका हुन्।
कोइरालाका अनुसार वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणले लाखौँ नेपाली परिवारको जीवनस्तर उकास्नुका साथै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन उल्लेखनीय भूमिका खेलेको छ। त्यसैले वैदेशिक रोजगारलाई केवल मानिस विदेश पठाउने माध्यमका रूपमा नभई राष्ट्रको आर्थिक विकासको प्रमुख आधारका रूपमा हेर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी सुनिश्चित गर्न वैदेशिक रोजगार व्यवसायी, श्रमिक, सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। समयअनुकूल ऐन, नियम तथा नीतिमा सुधार गरी प्रक्रियालाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउनु आजको आवश्यकता भएको उनको धारणा छ।
कोइरालाले श्रमिकको हकहितको पूर्ण संरक्षण गर्दै व्यवसायीलाई पनि सम्मानजनक वातावरणमा काम गर्ने अवसर प्रदान गरिनुपर्नेमा जोड दिए। व्यवसायीलाई अनावश्यक झन्झटभन्दा सहजीकरण गर्ने नीति अवलम्बन गरिए वैदेशिक रोजगार क्षेत्र अझ प्रभावकारी बन्ने उनको विश्वास छ।
उनका अनुसार वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिस्पर्धी बनाउन सके नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा अझ बढी रोजगारीका अवसर सिर्जना गर्न, विप्रेषण वृद्धि गर्न तथा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न महत्वपूर्ण सफलता प्राप्त गर्न सक्छ।
कोइरालाले वैदेशिक रोजगार व्यवसाय वास्तवमै राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको संरक्षण, सुधार र सम्मान गर्नु राज्य, निजी क्षेत्र तथा समाज सबैको साझा दायित्व भएको बताएका छन्।



























