काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–ग्रीस मैत्री संघका अध्यक्ष मनोज नेवा खड्गीको नेतृत्वमा ग्रीस पुगेको नेपाली टोलीले राजधानी एथेन्समा साइकल र्याली आयोजना गरेको छ। नेपाल–ग्रीसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमअन्तर्गत नेपालको प्राकृतिक सुन्दरता, ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक सम्पदा र मौलिक कला–संस्कृति झल्किने ब्यानरसहित साइकल र्याली निकालिएको हो।
नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको ग्रीसमा प्रचारप्रसार गर्दै नेपाल भ्रमणका लागि अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो। र्यालीमा नेपालबाट ग्रीस पुगेका विभिन्न क्षेत्रका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरू सहभागी भएका छन्।
खड्गीको नेतृत्वमा ग्रीस पुगेको टोलीमा बागमती विश्वविद्यालयका डिन डा. शिवराज अधिकारी, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौं महानगरपालिका–१८ का वडाध्यक्ष तथा पूर्वाधार विकास संयोजक राजेश कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य उज्ज्वल कुमार घिसिङ, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र वर्ल्ड साइकल टुर च्याम्पेन नेपालका अध्यक्ष कवि कुमार महर्जनलगायत सहभागी छन्।

साइकल र्याली एथेन्सको कुकाकीबाट सुरु भएर एक्रोपोलिस, थिसियो, प्लाका, ज्यापियो हुँदै ओलम्पिक स्टेडियम (कालिमारमारो) र जिउस टेम्पल क्षेत्रसम्म पुगेको थियो। ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुँदै अघि बढेको र्याली पुनः कुकाकीमै पुगेर समापन भएको हो।
र्यालीमा सहभागीहरूले नेपालका हिमाल, पहाड, प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, धार्मिक स्थल र मौलिक कला–संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सन्देश प्रवाह गरेका थिए। ब्यानर तथा प्रचार सामग्रीमार्फत नेपालको पर्यटनका विविध पक्षलाई ग्रीसका स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने प्रयास गरिएको आयोजक पक्षले जनाएको छ।
र्यालीमार्फत नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको प्रचारसँगै दुई देशबीच सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य तथा कला, संस्कृति, परम्परा र सम्पदाको प्रवर्द्धन गर्ने विषयमा जोड दिइएको छ भने अर्को तर्फ ग्रीसमा रहेका नेपाली समुदायको हितमा सहकार्य विस्तार गर्ने तथा उनीहरूको सीप, ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
त्यस्तै, ग्रीसको फोहोर व्यवस्थापन तथा सहरी व्यवस्थापन प्रणालीको अध्ययन गरी नेपालमा उपयोग गर्न सकिने अभ्यासबारे अनुभव आदान–प्रदान गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। ग्रीसको पर्यटन व्यवस्थापन, सरसफाइ र सार्वजनिक स्थल संरक्षणका अभ्यासबाट नेपालले सिक्न सक्ने पक्ष पहिचान गर्ने उद्देश्य रहेको जिल्ला होटल ब्यबसायी संघ काठमाण्डौंका अध्यक्ष सुरेश बरालले बताए ।
कार्यक्रममा ग्रीस–नेपाल फ्रेन्डसिप एन्ड कल्चर एसोसिएसनका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स, ग्रीसका प्रतिनिधि कृष्ण पोखरेललगायतको पनि सहभागिता रहेको छ।
नेपाल र ग्रीसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। यस्ता कार्यक्रममार्फत पर्यटन, संस्कृति, व्यापार तथा लगानीका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।
नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता, साहसिक पर्यटन र ऐतिहासिक सम्पदाबारे ग्रीसमा प्रचारप्रसार गर्न साइकल र्याली प्रभावकारी माध्यम भएको आयोजकको विश्वास छ। यसबाट ग्रीससहित युरोपेली मुलुकका पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।




























