काठमाडौं । दुई महिनाअघि मात्रै ‘उत्कृष्ट प्रहरी’का रूपमा सम्मानित प्रहरी नायब निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ होटलमा एक युवतीसहित भेटिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसन्धानमा परेका छन्।
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित भकुण्डे प्रहरी चौकीका इन्चार्जसमेत रहेका श्रेष्ठलाई मध्यरातमा स्थानीय नमोबुद्ध होटलबाट एक युवतीसहित स्थानीयवासीले नियन्त्रणमा लिएको बताइएको छ।
स्थानीयका अनुसार श्रेष्ठ पदीय मर्यादाविपरीत होटलमा युवतीसँग भेटिएको अवस्थामा फेला परेका हुन्। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि श्रेष्ठ र ती युवतीलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल लगिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार स्थानीयबाट सूचना आएपछि दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला ल्याइएको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताएका छन्।
श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट ‘उत्कृष्ट प्रहरी’का रूपमा पुरस्कृत भएका थिए। सम्मान पाएको केही समयमै उनी विवादमा तानिएपछि घटनाले प्रहरी संगठनभित्र पनि चासो बढाएको छ।
प्रहरीले होटलमा उनीहरूको उपस्थितिको कारण, घटनाको वास्तविक अवस्था तथा कुनै पदीय आचरणविपरीत कार्य भए/नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता र संलग्न व्यक्तिहरूमाथि हुने कारबाहीबारे स्पष्ट हुने प्रहरीको भनाइ छ।

























