काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग भएको छलफल र प्राप्त प्रतिबद्धतापछि सञ्चालनमा रहेका सम्पूर्ण संघीय कार्यक्रम तथा दबाबमूलक आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै वैदेशिक रोजगार व्यवसायीको काम–कारोबार नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलमा संघले उठाउँदै आएका विभागीय तथा नीतिगत समस्याका विषयमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा व्यवसायीले राखेका मागलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्दै विभागीय समस्या तत्काल सुधार गर्न निर्देशन दिने तथा नीतिगत सुधारका लागि आवश्यक ऐन तथा नियमावली संशोधनको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको संघले जनाएको छ।
संघका अनुसार वैदेशिक रोजगार व्यवसायीका तर्फबाट उठाइएका विभिन्न १५ बुँदे मागमध्ये अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियासँग सम्बन्धित छन्। ती विषयलाई प्रस्तावित संशोधनमा समेट्दै यथासम्भव छिटो वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन मन्त्रालय तथा संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ।
त्यस्तै, वैदेशिक रोजगार विभागमा व्यवसायीले आवश्यक प्रमाण तथा कागजातसहित आफ्ना विषयवस्तु राखी समाधानका लागि अनुरोध गर्न सक्ने र विभागबाट समाधान हुन नसके मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्थासमेत कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारबाट प्राप्त सकारात्मक प्रतिबद्धतालाई ध्यानमा राख्दै हाल सञ्चालनमा रहेका संघका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। संघले आफ्ना सदस्य संस्थाहरूलाई आ–आफ्ना मुख्य तथा शाखा कार्यालय नियमित रूपमा सञ्चालन गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उद्धारलगायतका सेवा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।
संघले यो निर्णय आफ्ना माग तथा संघबाट अघि सारिएका विषयमा सरकारसँग भएको संवाद, वार्ता तथा प्राप्त प्रतिबद्धतालाई कार्यान्वयन गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

























