काठमाडौं । सोमबार बिहानै मोरङ कारागारमा कैदीबन्दीले छतमा चढेर नाराबाजी गरेपछि कारागार परिसरमा तनाव उत्पन्न भएको छ। कारागारको ‘बी’ ब्लकका कैदीबन्दी खानतलासीको विरोधमा छतमा चढेर नाराबाजीमा उत्रिएका हुन्।
कारागारभित्र लागूऔषधलगायत गैरकानुनी सामग्री रहे–नरहेको जाँच गर्न प्रहरीले खानतलासी थालेपछि कैदीबन्दी आक्रोशित बनेको बताइएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालसहित जिल्ला सुरक्षा समितिको टोलीको उपस्थितिमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर कारागारभित्र खानतलासी गरिएको थियो।
प्रहरीले भने उक्त खानतलासीलाई नियमित निरीक्षणका रूपमा लिएको छ। एसपी कटुवालका अनुसार कारागारको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै समय–समयमा गरिने नियमित जाँचकै क्रममा खानतलासी गरिएको हो।
तर खानतलासीपछि कैदीबन्दीको असन्तुष्टि बढेको देखिएको छ। कारागार प्रशासनका अनुसार उनीहरू भवनको छतमा चढेर नाराबाजी गरिरहेका छन्।
यसैबीच, केही कैदीबन्दीलाई अर्को कारागारमा स्थानान्तरण गर्ने तयारीसमेत रहेको प्रहरी स्रोतले जनाएको छ। तर कैदीबन्दीले नाराबाजी सुरु गरेपछि तत्कालका लागि स्थानान्तरणको योजना स्थगित गरिएको एक अधिकारीले बताए।
तनाव बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कारागार परिसरलाई सुरक्षा घेरामा राखेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने कारागार प्रशासनले कैदीबन्दीलाई सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेको छ।
नियमित निरीक्षणका रूपमा गरिएको भनिएको खानतलासीपछि कैदीबन्दी छतमा चढेर नाराबाजीमा उत्रिनुले मोरङ कारागारको सुरक्षा व्यवस्थापन र कैदीबन्दीबीचको समन्वयमा प्रश्न उठाएको छ। घटनाको अवस्था सामान्य बनाउन सुरक्षा निकाय र कारागार प्रशासनले प्रयास जारी राखेका छन्।


























