काठमाडौ ।मेलुङ गाउँपालिका–६ का वडा अध्यक्ष राजु कुसुम लामाले विकास निर्माणका काममा पारदर्शिता कायम गर्न आफूले प्रत्यक्ष अनुगमन गर्ने गरेको बताउँदै वडामा भ्रष्टाचार भएको भन्ने गुनासो अहिलेसम्म नआएको दाबी गरे। प्राविधिक मूल्याङ्कन, पालिकाको अनुगमन तथा वडा तहको निगरानीका कारण काम नगरी भुक्तानी लिने अवस्था नरहेको उनको भनाइ छ
स्थानीयको आवश्यकता र गुणस्तरअनुसार काम भएपछि मात्रै बिल भुक्तानीका लागि प्रक्रिया अघि बढ्छ। म आफैँ अनुगमन गर्छु र राम्रो काम नभएसम्म बिलमा हस्ताक्षर गर्नेवाला छैन,” वडा अध्यक्ष लामाले भने। आफ्नो कार्यकालमा धेरै विकासका काम भए पनि पर्याप्त बजेट अभावका कारण अझै थुप्रै योजना पूरा गर्न नसकिएको बताए। विशेषगरी वडामा विकासका लागि उपलब्ध हुने सीमित बजेटले ठूला योजनालाई अघि बढाउन कठिन भएको उनको भनाइ छ।
संघ र प्रदेश सरकारसँग समेत थप बजेटका लागि पहल गरिए पनि अपेक्षाअनुसार स्रोत प्राप्त हुन नसकेको बताउदै “हामीसँग स्रोतसाधन पर्याप्त छैन। जनताको अपेक्षा धेरै छ, तर वडाको विकास बजेट सीमित छ।हामीले सोचेको र जनताले चाहेको जस्तो विकास गर्न सकेका छैनौँ। प्रदेश र संघबाट पर्याप्त बजेट आउने अपेक्षा थियो, तर अपेक्षाअनुसार बजेट प्राप्त हुन सकेन,” वडा अध्यक्ष लामाले भने।
उनका अनुसार विदेशमा रोजगारी गरेर फर्किएका युवाले विदेशमा सिकेको सीप र प्रविधि स्थानीय तहमा उपयोग गर्न सक्ने वातावरण बनाउन आवश्यक छ। तर, विदेशबाट फर्किएका युवाले आफूले सिकेको सीपबारे स्थानीय सरकारलाई जानकारी नदिँदा त्यस्ता सीपको उपयोग गर्ने योजना बनाउन कठिन हुने उनले भनाइ छ।
“विदेशमा गएर धेरै कुरा सिकेर आउनुभएको हुन सक्छ। यहाँ आएर मैले यो सिकेँ, यस्तो काम गर्न सक्छु भनेर स्थानीय सरकारसँग कुरा गर्नुपर्यो। त्यसो भए हामीले पनि त्यहीअनुसार कार्यक्रम बनाउन सक्छौँ,” लामाले भने।
वडामा घरेलु हिंसा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए। तर पछिल्लो समय गाउँमा युवा जनशक्ति कम हुँदै गएको र अधिकांश युवा रोजगारीका लागि बाहिर रहेकाले सामाजिक गतिविधिमा समेत जनसहभागिता जुटाउन कठिन भइरहेको उनको भनाइ छ।
उनले आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन सकेमा ग्रामीण क्षेत्रमा विकासका थप काम अघि बढाउन सकिने बताउदै लामाले वडाको बजेटमा कृषि, पशुपालन, तरकारी खेतीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण तथा कार्यन्वयन गरि । व्यावसायिक कृषि गर्न चाहने किसानलाई प्रोत्साहन तथा अनुदान उपलब्ध गराउने वडाको नीति रहेको समेत बताए



























