काठमाडौं- गोकर्णेश्वर सुनचाँदी व्यवसायी संघले महानगरीय प्रहरी वृत्त बौद्धका नवनियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महरलाई स्वागत गरेको छ। संघले प्रहरी र सुनचाँदी व्यवसायीबीचको सहकार्यलाई थप मजबुत बनाउँदै व्यवसायको सुरक्षा तथा आपराधिक घटना न्यूनीकरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
गोकर्णेश्वर सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा डीएसपी महरा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह–कोषाध्यक्ष तथा दोलखा ज्वेलर्सका सञ्चालक दीपक धनुके, संघका संरक्षक राजन घतानीलगायत सुनचाँदी व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै डीएसपी महराले सुनचाँदी व्यवसायी र प्रहरीबीच निरन्तर समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताउदै चोरी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि व्यवसायीले शंकास्पद वस्तु वा व्यक्तिबारे तत्काल प्रहरीलाई जानकारी गराउनुपर्नेमा उनले जोड दिए।
महराले सुनचाँदी पसलको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी क्यामेराको उचित व्यवस्थापन, नियमित निगरानी र रेकर्ड सुरक्षित राख्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरे। पसलभित्र मात्र नभई बाहिरी क्षेत्र, विशेषगरी प्रवेशद्वार र आसपासको गतिविधि स्पष्ट देखिने गरी क्यामेरा जडान गर्नुपर्ने उनको भनाइ थियो।
उनले पसलमा जडान गरिएका सीसीटीभी क्यामेराको संख्या मात्र पर्याप्त नभई सही स्थानमा जडान, स्पष्ट दृश्य र नियमित रेकर्डिङ महत्वपूर्ण हुने बताए। बाहिरी क्षेत्रमा समेत केन्द्रित क्यामेरा राख्दा चोरी तथा अन्य आपराधिक घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग पुग्ने उनले उल्लेख गरे।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह–कोषाध्यक्ष दीपक धनुकेले विगतमा प्रहरी प्रशासनको उपस्थिति देख्दा व्यवसायीहरू त्रसित हुने अवस्था रहेको भए पनि अहिले प्रहरी र व्यवसायीबीचको सम्बन्धलाई सहकार्यमा आधारित भएको बताए।
उनले गणतन्त्रात्मक व्यवस्थामा प्रहरी र व्यवसायीबीचको निकटतालाई थप व्यावसायिक र प्रभावकारी बनाउँदै उपभोक्तामैत्री वातावरण निर्माण गर्न एक आपसमा भुमिका खेल्नुपर्ने बताए ।
समाजमा भइरहेका चोरी तथा अन्य आपराधिक घटनाको न्यूनीकरणका लागि प्रहरी र व्यवसायीबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
धनुकेले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनसँगै समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीलाई आवश्यक सहयोग गर्नुपर्ने बताए।
प्रहरी र व्यवसायीबीच विश्वासको वातावरण निर्माण भए व्यवसायी, उपभोक्ता र समग्र समाजलाई सुरक्षित बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
संघका अध्यक्ष गणेश तिरुवाले सुनचाँदी व्यवसाय केवल व्यापारमा सीमित नभई समाजका विभिन्न संस्कार, संस्कृति तथा सामाजिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए।
उनले चोरीका गहना वा शंकास्पद सुनचाँदीको कारोबारमा व्यवसायीहरू थप सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए। ग्राहकले ल्याएको सुनचाँदीको स्रोत तथा अवस्थाबारे आवश्यक जानकारी र प्रमाण बुझेर मात्र कारोबार गर्नुपर्ने उनले भनाइ थियो।
“कसैले सुनचाँदी लिएर आयो भन्दैमा तत्कालै चोरीको हो भनेर निष्कर्ष निकाल्नु हुँदैन। आवश्यक प्रक्रिया पूरा गरेर वस्तुको स्रोत र अवस्थाबारे बुझेर मात्रै कारोबार गर्नुपर्छ,” तिरुवाले भने। व्यवसायीलाई अनावश्यक रूपमा शंकाको दृष्टिले नहेरी प्रहरी र व्यवसायीबीच आपसी विश्वास तथा सहकार्यको वातावरण बनाउनुपर्ने बताए। कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
संघका संरक्षक राजन घतानीले डीएसपी महरलाई बौद्धमा स्वागत गर्दै आगामी दिनमा प्रहरी प्रशासन र सुनचाँदी व्यवसायीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउदै लैजानुपर्ने बताए व्यवसायीका सुरक्षा समस्या, चोरीका घटना तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि प्रहरीसँग निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि आफ्नो व्यवसायको सुरक्षा, ग्राहकको विश्वास र समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीसँग आवश्यक सहकार्य गर्ने बताएका थिए। प्रहरी–व्यवसायीबीचको समन्वय बलियो बनाएर सुनचाँदी व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनेमा सहभागीहरूले जोड दिएका थिए।



























