काठमाडौं । काठमाडौं प्रवेश गर्ने प्रमुख नाका कलंकीमा भारतीय पर्यटकलाई लक्षित गर्दै बिचौलियाको गतिविधि बढेको भन्दै स्थानीय होटल तथा गेस्टहाउस व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। पर्यटकलाई विभिन्न बहाना, प्रलोभन तथा झुटा आश्वासन दिएर आफूअनुकूलका होटलमा लैजाँदा व्यवसायमा असर पर्नुका साथै विदेशी पाहुनामा नेपालप्रति नकारात्मक धारणा बन्न सक्ने भन्दै कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनले प्रशासनको निगरानी र कारबाही माग गरेको छ ।
एसोसिएसनका अनुसार भारतबाट निजी सवारीसाधनमा नेपाल प्रवेश गर्ने कतिपय पर्यटक कलंकी पुगेपछि बिचौलियाले भारतीय नम्बर प्लेटका सवारीसाधन रोकिएको स्थानमा जाने, उनीहरूसँग सोधपुछ गर्ने र सवारीसाधनको पछिपछि लागेर होटलको सेवा–सुविधा तथा गुणस्तरबारे गलत र भ्रामक जानकारी दिंदै विभिन्न प्रलोभन देखाएर आफूअनुकूलका होटल तथा गेस्टहाउसमा लैजाने प्रयास हुने गरेको एसोसिएसनले जनाएको हो ।
यस्तो गतिविधिले कलंकी आसपास सञ्चालनमा रहेका होटल तथा गेस्टहाउस व्यवसायीलाई प्रत्यक्ष असर पारेको व्यवसायीहरूको गुनासो छ। पर्यटकको आवश्यकता र सुविधालाई ध्यानमा राखेर सञ्चालनमा रहेका होटल तथा गेस्टहाउसका पाहुनालाई बिचौलियाले विभिन्न प्रलोभन देखाएर अन्यत्र लैजाँदा व्यवसायीहरूले व्यापार गुमाउनुपरेको उनीहरूको पीडा छ। अर्कोतर्फ, यस्ता गतिविधिले विदेशी पाहुनामा नेपालप्रति नै नकारात्मक धारणा बन्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ।
पर्यटकलाई सस्तो मूल्य, राम्रो सेवा तथा विशेष सुविधाको आश्वासन दिएर अन्यत्र पुर्याइएपछि भनेअनुसारको सेवा नपाएको गुनासो केही सेवाग्राहीले व्यवसायीसमक्ष गरेपछि यो विषय अहिले बजारमा उठाउनुपरेको र यस्ता गतिविधिले आगामी दिनमा समग्र नेपाली आतिथ्य तथा पर्यटन क्षेत्रको छविमा नकारात्मक असर पर्न सक्ने भन्दै एसोसिएसनले चिन्ता व्यक्त गरेको हो।
पहिलोपटक नेपाल आएका भारतीय पर्यटकले प्रवेश नाकामै गलत सूचना वा झुटा आश्वासन पाउँदा नेपालप्रतिको पहिलो धारणा नै नकारात्मक बन्न सक्ने व्यवसायीहरूको चिन्ता छ। पर्यटकको यस्तो अनुभव सामाजिक सञ्जाल र आफन्त–साथीमार्फत फैलिँदा नेपालको पर्यटन छविमा असर पर्नुका साथै होटल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम छ।
एसोसिएसनले कलंकी क्षेत्रमा पर्यटकको आवागमन हुने स्थानमा प्रशासनिक निगरानी बढाउन तथा पर्यटकलाई गलत सूचना र झुटा आश्वासन दिई विभिन्न बहानामा अन्यत्र लैजाने बिचौलियाको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग छ।
नेपाललाई सुरक्षित, सहज र पर्यटकमैत्री गन्तव्यका रूपमा स्थापित गर्न प्रवेश नाकादेखि नै पर्यटकलाई भरपर्दो सूचना र सेवा उपलब्ध गराउनुपर्नेमा एसोसिएसनले जोड दिएको छ। त्यसका लागि प्रशासन, पर्यटनसम्बन्धी निकाय र होटल व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको एसोसिएसनको भनाइ छ।
भारतीय पर्यटक नेपालको पर्यटन बजारका महत्वपूर्ण पाहुना भएकाले उनीहरूको नेपाल बसाइलाई सहज, सुरक्षित र सकारात्मक बनाउन प्रवेश नाकादेखि नै उचित वातावरण निर्माण गर्नुपर्नेमा कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनले जोड दिएको छ।



























