काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव कुमार सुनारले पार्टीको महाधिवेशन सम्बन्धी विवाद अदालतमा विचाराधीन रहे पनि कांग्रेस महाधिवेशनको तयारीबाट पछि नहटेको बताएका छन्।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले सोहीअनुसार पार्टीका गतिविधि र तयारीहरू अगाडि बढिरहेको उनको भनाइ छ। पार्टीभित्र देखिएका विभिन्न समस्या समाधान गर्न केन्द्रीय कार्यालयमा दिनरात काम भइरहेको तथा विभिन्न तहका अधिवेशनसमेत सम्पन्न हुँदै गएको उनले बताए।
सुनारले अदालतमा मुद्दा परेको विषयलाई लिएर पार्टी अलमलिएर नबस्ने स्पष्ट पारे। उनले अदालतबाट आउने आदेश र निर्णयलाई पार्टीले सम्मान गर्ने बताए।
“यदि अदालतले महाधिवेशन रोक्न वा कुनै निश्चित प्रक्रियाअनुसार अघि बढ्न आदेश दिन्छ भने त्यसलाई पनि जिम्मेवार ढंगले स्वीकार गरेर अघि बढ्नुपर्छ,” उनले भने, “तर अहिले नै कुनै व्यक्ति विशेषलाई नेतृत्वको अधिकार दिने विषयमा तत्काल फैसला आउने अवस्था देखिँदैन।”
उनले पार्टीको विधान र संवैधानिक व्यवस्थाअनुसार तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए।
निर्धारित अवधिभित्र महाधिवेशन सम्पन्न हुन नसके पार्टीको संवैधानिक तथा कानुनी अस्तित्वमै प्रश्न उठ्न सक्ने उनको चिन्ता छ।
“कांग्रेसको इतिहास र अस्तित्वमाथि नै संकट आउने अवस्था सिर्जना हुनुहुँदैन,” उनले भने, “त्यसका लागि सबै पक्षले व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको एकता र सहमतिको पक्षमा काम गर्नुपर्छ।”
सुनारले आवश्यक परे पार्टीभित्र सहमतिको मध्यमार्ग खोज्न सकिने बताए। विशेष परिस्थितिमा कार्यकारी वा अन्तरिम प्रकृतिको सहमतिको संरचनामार्फत पनि निकास खोज्न सकिने सम्भावना रहेको उनको भनाइ छ।
अदालत र विभिन्न संवैधानिक निकायमाथि राजनीतिक प्रभाव तथा पहुँचका आधारमा चलखेल हुन सक्ने भन्ने चर्चा बाहिर आइरहेको उल्लेख गर्दै उनले यस्ता संस्थाहरू निष्पक्ष र स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए।
राजनीतिक दलसम्बन्धी विवादमा निर्वाचन आयोगले आफ्नो अधिकार क्षेत्रभित्र निर्णय गरिसकेको अवस्थामा पुनः अदालतमा विभिन्न किसिमका विवाद सिर्जना हुनु उचित नभएको उनको भनाइ छ।
उनले भने, “अहिले सबैभन्दा ठूलो आवश्यकता कांग्रेसलाई कमजोर बनाउने होइन, जोगाउने हो। अदालतबाट जुनसुकै निर्णय आए पनि पार्टीका जिम्मेवार नेता र कार्यकर्ताले एकता र सहमतिका साथ निकास खोज्नुपर्छ।”
महाधिवेशन रोक्ने अन्तरिम आदेश आए पनि त्यसलाई पार्टी फुटको कारण बनाउन नहुने सुनारको धारणा छ। बरु सबै पक्षबीच संवाद गरी नयाँ सहमति निर्माण गरेर पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउनुपर्ने उनले बताए।
समयमा विवादको समाधान र महाधिवेशन सम्पन्न गर्न नसकिए कांग्रेसको संगठनात्मक र संवैधानिक अवस्थामै गम्भीर चुनौती आउन सक्ने उल्लेख गर्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे।



























