काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सह–सचिव कविता गौतमले परिवर्तनको माग गर्ने युवा पुस्ता स्वयं पनि परिवर्तनका लागि तयार हुनुपर्ने बताएकी छन्।
स्वतन्त्र विद्यार्थी युनियन, कैलासकुट बहुमुखी क्याम्पसद्वारा आयोजित ‘के लोकतन्त्र खतरामा छ?’ विषयक कार्यक्रममा बोल्दै गौतमले युवा पुस्ताले गलतलाई गलत भन्न, प्रश्न उठाउन र समाजमा रहेका विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउनुपर्ने बताइन्।
उनले परिवर्तन केवल अरूबाट अपेक्षा गरेर मात्र सम्भव नहुने धारणा राख्दै आफूभित्र पनि परिवर्तनको तयारी र जिम्मेवारी आवश्यक रहेको उल्लेख गरिन्।
गौतमले लोकतन्त्र केवल पाँच वर्षमा एक पटक मतदान गर्ने व्यवस्था मात्र नभएको बताउँदै लोकतन्त्रको वास्तविक अर्थ नागरिकको अधिकार, स्वतन्त्रता, फरक विचारप्रतिको सम्मान र जिम्मेवार सहभागिता भएको धारणा राखिन्।
उनले भनिन्, “हामीले कस्तो परिवर्तन चाहन्छौँ भन्ने प्रश्न मात्र होइन, परिवर्तनका लागि हामी आफैँ कति तयार छौँ भन्ने प्रश्न पनि महत्वपूर्ण छ।”
उनका अनुसार लोकतन्त्रमा आलोचना गर्ने अधिकारसँगै जिम्मेवारी पनि जोडिएको हुन्छ। फरक विचार राख्ने व्यक्ति वा समूहको सम्मान गर्नु पनि लोकतान्त्रिक संस्कारको महत्वपूर्ण पक्ष भएको उनले बताइन्।
गौतमले युवाले विभाजन र घृणाको राजनीति नभई सहकार्य, इमानदारी, विचार र जिम्मेवारीको राजनीति खोज्नुपर्नेमा जोड दिइन्। अवसरवादभन्दा माथि उठेर समाज र देशको वास्तविक परिवर्तनका लागि युवाले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
“युवा केवल भविष्य मात्र होइन, वर्तमानको पनि शक्ति हो,” उनले भनिन्, “त्यसैले युवाले गलत प्रवृत्तिविरुद्ध आवाज उठाउँदै सही परिवर्तनका लागि आफूलाई पनि तयार बनाउनुपर्छ।”



























