काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ बाट मेघनाथ भुर्तेलले समानुपातिकतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
आज (असोज १२ गते ) हुने क्षेत्रीय अधिवेशनमा समानुपातिक खसआर्यतर्फबाट उम्मेदवारी दिएका भुर्तेलले पार्टीको रूपान्तरण, सशक्तीकरण र पुनर्जागरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले ‘सबल कांग्रेस र समृद्ध नेपाल’ निर्माणका लागि संगठनलाई थप व्यवस्थित, जनमुखी र गतिशील बनाउनुपर्ने धारणा अघि सारेका छन्।
भुर्तेलले अग्रजको अनुभव र युवाको सक्रियतालाई एकीकृत गर्दै कांग्रेसलाई थप सशक्त बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्। संगठन सुदृढीकरण, युवा सहभागिता विस्तार, पार्टी एकता, सामाजिक न्याय, सुशासन तथा विकास र समृद्धिलाई उनले प्राथमिकतामा राखेका छन्।
उनले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई मार्गदर्शनका रूपमा अघि बढाउँदै जनताको पक्षमा पार्टीको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बीपी कोइरालाको विचारलाई मार्गदर्शन मान्दै लोकतान्त्रिक मूल्य र सामाजिक न्यायमा आधारित समृद्ध समाज निर्माणका लागि आफू सक्रिय रहने उनको भनाइ छ।
भुर्तेलले पार्टी संगठनलाई जनतासँग थप जोड्नुपर्नेमा जोड दिँदै ‘सबल संगठन, समृद्ध समाज’ लाई आफ्नो अभियानको आधार बनाएका छन्। स्थानीय तहदेखि नै संगठनलाई मजबुत बनाउँदै जनताको सेवा र विकासका मुद्दालाई पार्टीको प्राथमिकतासँग जोड्नुपर्ने उनले बताएका छन्।
आसन्न क्षेत्रीय अधिवेशनलाई कांग्रेसको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र नेतृत्व विकासका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै भुर्तेलले अधिवेशनलाई सभ्य, लोकतान्त्रिक, समावेशी र सफल बनाउन सबैको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
उनले काठमाडौं क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा संवादलाई समेत तीव्र बनाएका छन्। सो क्रममा उनले आफ्नो उम्मेदवारीको उद्देश्य र पार्टी संगठनलाई प्रभावकारी बनाउने योजनाबारे प्रतिनिधिहरूसँग धारणा राख्दै आफ्नो पक्षमा मतदान गरी विजयी गराउन अपिल गरेका छन्।
भुर्तेलले अग्रजको आशीर्वाद र युवाको सक्रियतालाई साथमा लिएर पार्टीको संगठनात्मक क्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मत, माया र सहयोगका लागि आग्रह गरेका छन्।
उनले आगामी महाधिवेशनमा आफ्नो सार्थक सहभागितामार्फत कांग्रेसको रूपान्तरण, सशक्तीकरण र पुनर्जागरणको अभियानमा योगदान पुर्याउने बताएका छन्।
‘अग्रजको आशीर्वाद, युवाको सक्रियता र संगठनको समृद्ध भविष्य’ भन्ने नारासहित उम्मेदवारी दिएका भुर्तेलले कांग्रेसलाई एकताबद्ध, सबल र जनमुखी बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा अघि बढ्नुपर्ने धारणा राखेका छन्।





























