काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको जनशक्ति विकाससँगै शिक्षा र खेलकुदका क्षेत्रमा नेपाल–रसिया सहकार्यलाई थप विस्तार र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकसँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री पोखरेलले शिक्षा र खेलकुदलाई जनशक्ति विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन दुई देशबीचको सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् ।
भेटमा नेपाल–रसियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा शिक्षा, खेलकुद र जनशक्ति विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।
मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा र खेलकुदका क्षेत्रमा ज्ञान, सीप, प्रविधि तथा अनुभव आदानप्रदानलाई प्राथमिकता दिँदै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने धारणा राखेका थिए ।
राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी र सहकार्य गर्न रसियाली पक्ष इच्छुक रहेको बताएका थिए । उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याएर दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखेका थिए ।
भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत पारस्परिक हितका विषयमा सहकार्य विस्तार गर्ने तथा आगामी दिनमा त्यसका लागि नयाँ सम्भावनाको खोजी गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।




























