काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई जापान पठाइदिने भन्दै रकम असुलेर लामो समयसम्म झुक्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा खर्वा तामाङलाई काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट पक्राउ गरेको हो । पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा तामाङले विदेश पठाइदिने आश्वासन दिएर लामो समयसम्म झुक्यानमा राखेको र पछि सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवायुवतीलाई लक्षित गर्दै आकर्षक तलब, सहज भिसा र छिट्टै जापान पुर्याइदिने आश्वासन दिएर रकम असुल्ने प्रवृत्ति देखिँदै आएको छ । विशेषगरी जापानजस्ता आकर्षक रोजगार गन्तव्यको नाम प्रयोग गरेर व्यक्तिगत रूपमा रकम उठाउने, प्रक्रिया अघि नबढाउने र पछि सम्पर्कविहीन हुने घटनाले वैदेशिक रोजगार ठगीको जोखिम बढाएको छ ।
वैदेशिक रोजगारमा पठाउने नाममा झुटो आश्वासन दिने वा गैरकानुनी रूपमा रकम असुल्ने कार्यलाई वैदेशिक रोजगार ऐन, २०६४ ले कसुर मानेको छ । इजाजतपत्रबिना वैदेशिक रोजगारसम्बन्धी कारोबार गर्ने, श्रमिकलाई विदेश पठाइदिने भन्दै रकम लिने वा सम्झौताविपरीत काम गर्ने व्यक्तिमाथि कानुनअनुसार कारबाही र पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था छ ।
ठगीमा परेको अवस्थामा पीडितले आफूले रकम बुझाएको प्रमाण, बैंक भौचर, रसिद, सम्झौता, म्यासेज तथा अन्य कागजात सुरक्षित राखेर सम्बन्धित निकायमा उजुरी दिन सक्नेछन् । वैदेशिक रोजगार विभागमा उजुरीका साथै ठगीको प्रकृतिअनुसार प्रहरीमा समेत जाहेरी दिन सकिने व्यवस्था छ ।
वैदेशिक रोजगारीका लागि रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति वा संस्था वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त हो कि होइन, रोजगारदाता तथा मागपत्रको विवरण आधिकारिक रूपमा स्वीकृत भएको छ कि छैन र रोजगारीको तलब तथा सेवा–सुविधासम्बन्धी विवरण कागजातमा उल्लेख छ कि छैन भन्ने यकिन गर्नुपर्ने हुन्छ ।
विशेषगरी सामाजिक सञ्जाल वा व्यक्तिगत सम्पर्कका आधारमा ‘जापानमा राम्रो तलबको काम’, ‘भिसा पक्का’, ‘छिट्टै पठाइदिन्छु’ जस्ता आश्वासनमा ठूलो रकम बुझाउँदा ठगीमा पर्ने जोखिम हुने भएकाले आधिकारिक प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जान सम्बन्धित निकायले आग्रह गर्दै आएको छ ।




























